विश्वकप : अस्ट्रेलिया र टर्कीमा को बलियो ?

काठमाडौं। अस्ट्रेलियाले पछिल्ला पाँच विश्वकपमा सहभागिता जनाएको छ। त्यसैले विश्वकप २०२६ मा अस्ट्रेलियाले आफ्नो स्थान सुरक्षित गर्नु कुनै आश्चर्यको कुरा होइन। सन् २०२२ मा त टोलीले अन्तिम १६ सम्मको यात्रा गरेको थियो। जुन विश्वकप इतिहासमा अस्ट्रेलियाको सबैभन्दा सफल यात्रा हो।

यसपाली अमेरिकामा प्रभाव छोड्न अस्ट्रेलियालाई कतार जस्तो सहज छैन। किनभने आइतबारको प्रतिद्धन्द्धी टर्कीसँगै अस्ट्रेलियाको समूहमा अमेरिका र पाराग्वे जस्ता टोली छन्।

प्रतियोगिताअघि अस्ट्रेलियाले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो। मे ३१ मा मेक्सिकोसँग १–० ले हारेको अस्ट्रेलियाले ६ दिनपछि स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा रोक्यो।

टोनी पापोभिकको नेतृत्वमा रहेको अस्ट्रेलियाले टर्कीपछि जुन १९ मा अमेरिका र २५ मा पाराग्वेको सामना गर्ने तालिका छ। अस्ट्रेलिया र टर्कीले अहिलेसम्म दुईपटक मात्र एकअर्कासँग प्रतिस्पर्धा गरेका छन्। मे २००४ मा अस्ट्रेलियाले दुबै मैत्रीपूर्ण खेलमा टर्कीलाई हराएको थियो।

टर्कीका लागि अमेरिका विश्वकप तेस्रो अनुभव हो। सन् २००२ पछि पहिलोपटक टर्कीले विश्व फुटबलको कुम्भमेलामा सहभागिता जनाएको छ। २४ वर्षअघि टर्कीले सबैलाई आश्चर्य–चकित पारेको थियो। सेमिफाइनलसम्मको यात्रा तय गरेको टर्की पछि तेस्रो बनेको थियो।

युरोपियन च्याम्पियनसिप २०२४ मा टर्कीले क्वार्टरफाइनलसम्मको यात्रा गर्यो। त्यसैले पनि टर्कीमाथि यसपाली सबैको नजर छ। पछिल्लो लयका कारण पनि टर्कीलाई नजर–अन्दाज गर्न सकिन्न। टोली पछिल्ला ८ खेलमा अपराजित छ।

भिन्जेन्जो मोन्टेलाको नेतृत्वमा रहेको टर्कीले ८ मध्ये ७ खेल जितेको छ। जसमा विश्वकपअघि तयारी स्वरुप खेलिएका दुई मैत्रीपूर्ण खेल समावेश छन्। प्रतियोगिताअघि टोलीले नर्थ म्यासेडोनियालाई ४–० र भेनेज्वेलालाई २–१ ले हराएको थियो। युरोपियन प्लेअफमा कोसोभोलाई १–० ले हराउँदै विश्वकपको टिकट काटेको टर्कीले अस्ट्रेलियापछि जुन १९ मा पाराग्वे र २५ मा अमेरिकासँग खेल्नेछ।

अस्ट्रेलियाका खेलाडी पूर्ण रुपमा फिट छन्। इन्जुरी समस्या छैन। म्याथ्यु रायन, ज्याक्सन इर्भिन र म्याथिउ लेकी जस्ता खेलाडीले अस्ट्रेलियन टोलीलाई बल दिएको छ।

लेकीले १० विश्वकप खेलमा समान एक गोल र असिस्ट प्रदान गरेका छन्। ३५ वर्षीय लेकीको अनुभव अस्ट्रेलियाको विश्वकप अभियानमा महत्वपूर्ण रहनेछ। सिजन २०२५÷२६ को बीचमा नर्विच सिटीसँग जोडिएका मोहम्मद टुरेले १२ खेलमा १० गोल गरेका थिए। अस्ट्रेलियाका लागि गोल स्कोरिङ जिम्मेवारी यिनै स्ट्राइकर टुरेमाथि रहनेछ। १० खेलमा उनले अहिलेसम्म दुई गोल गरेका छन्।

टर्कीका लागि रियाल मड्रिडका अट्याकिङ मिडफिल्डर प्रतियोगिताकै हेर्नलायक खेलाडी हुन्। सिजनको अन्त्यमा इन्जुरीले उनलाई सताएको थियो। तर, अहिले उनी पूर्ण रुपमा फिट छन्। उनीसँगै कप्तान तथा मिडफिल्डर हाकान चालाहनोलु टर्कीका प्रमुख खेलाडी हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको