काठामाडाैं। साविक वि नेपाल आर्मी र ग्रान्डी स्टार्सले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। आर्मी पुरुष तथा ग्रान्डी महिलामा च्याम्पियन बने।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले आईआईएमएस कीर्तिपुरलाई ८३–७८ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो। आर्मीका प्रज्ज्वल महर्जनले २२ अंक जोडे।
पहिलो क्वाटरमा २०–१४ को अग्रता लिएको आर्मी दोश्रोमा २४–२५ को झीनोअन्तरले पछि प¥यो। तेस्राेमा आर्मीले पुनः अग्रता लिने क्रममा १९–१५ स्कोर ग¥यो। चौथो क्वाटरमा कीर्तिपुर २४–२० ले अगाडि रहेपनि जितका लागि पर्याप्त भएन। विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाए।
महिलाको उपाधि भिडन्तमा ग्रान्डीले बूढानीलकण्ठलाई ६७–३४ ले हरायो । ग्रान्डीकी रिन्चेन मोक्तानले २० स्कोर गरिन्। चारै क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको ग्रान्डीले क्रमशः २१–१०, १६–८, २१–९ र ९–७ को प्रदर्शन ग¥यो । पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार हात पारे। पुरुषमा आर्मीका रविन खत्री तथा महिलामा ग्रान्डीकी रिन्चेन मोक्तान ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले समान २०–२० हजार नगद पुरस्कार जिते।
पुरुषमा आर्मीका सयुन राई तथा महिलामा बूढानीलकण्ठकी उर्जा राना मगर उदीयमान खेलाडी चुनिए। दुवैलाई जनही १० हजार नगदबाट पुरस्कृत गरियो। विजेतालाई मुख्य प्रायोजक ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत, आयोजक नखिपोट युथ क्लबका अध्यक्ष इन्द्रजित आङबुहाङ लिम्बूलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। जेठ २४ गतेदेखि सुरु प्रतियोगताको पुरुषमा १९ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक क्लबका सदस्य एवं प्रतियोगिता संयोजक विनोद श्रेष्ठले जनाएका छन्। पुरुषमा मोसफलबाट २ सहभागी थिए। मोफसलबाट पहिलोपटक टिम सहभागी भएको हो। दुवै टिम धरानका थिए। महिलामा ६ टिमले लिग कम नकआउट आधारमा खेलेका थिए।