फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी

काठमाडौं । ३२ वर्षपछि फेरि फिफा विश्वकप संयुक्त राज्य अमेरिका फर्किएको छ। अमेरिकाले सन् १९९४ मा पहिलोपटक विश्वकप आयोजना गरेको थियो । जतिबेला प्रतियोगिताले अमेरिकामा फुटबलको लोकप्रियता बढाउन र दर्शक उपस्थितिको नयाँ कीर्तिमान कायम गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

यसपालीको संस्करण आकार, खर्च र व्यावसायिकताको हिसाबले अझै विशाल बनेको छ । टिकट मूल्यदेखि प्रतियोगिताको आकार, रंगशालाको पूर्वाधार र खेलाडीको सुविधासम्म हेर्दा पछिल्ला तीन दशकमा विश्व फुटबल कति परिवर्तन भएको छ भन्ने स्पष्ट देखिन्छ ।

प्रतियोगिताको आकार लगभग दोब्बर
दुई विश्वकपबीचको सबैभन्दा ठूलो अन्तर सहभागी टोलीको संख्या हो । सन् १९९४ को विश्वकप २४ टोली सहभागी भएको अन्तिम संस्करण थियो । त्यसपछि सन् १९९८ मा टोली संख्या बढाएर ३२ पुर्याइयो ।

सन् २०२६ मा फिफाले टोली संख्यालाई थप विस्तार गर्यो । अहिले ४८ टोलीले उपाधिका लागि आफ्नो चुनौती पेश गरिरहेका छन् । अब विश्वकप जित्ने टोलीले कूल ८ खेल खेल्नेछन् । जबकी पहिले सात खेल पर्याप्त हुन्थ्यो ।

टिकट मूल्यमा वृद्धि
यो ३२ वर्षको अन्तरालमा टिकट मूल्यमा अभूतपूर्व बृद्धि भएको छ । सन् १९९४ मा समूह चरणका खेलका टिकट २५ देखि ७५ अमेरिकी डलरसम्म उपलब्ध थिए । क्यालिफोर्नियाको पासाडेनास्थित रोज बाउलमा भएको फाइनलमा टिकट मुल्य १८० देखि ४७५ डलरसम्म थिए ।

तर, २०२६ मा स्थिति पूर्ण रुपमा फरक छ । समूह चरणका खेलका टिकट १४० देखि २ हजार ७ सय ३५ डलरसम्म पुगेका छन् भने फाइनलका टिकट ४ हजार १ सय ८५ देखि ८ हजार ६ सय ८० डलरसम्म बिक्री गरिएका थिए । पछि फिफाले फाइनलको सबैभन्दा महँगो टिकटको मूल्य बढाएर करिब १० हजार ९ सय ९० डलर पुर्यायो ।

यसपाली पहिलोपटक ‘डाइनामिक प्राइसिङ’ प्रणाली लागू गरिएको छ, जसअनुसार टिकटको मूल्य माग र लोकप्रियताअनुसार परिवर्तन हुन्छ । यसले आम समर्थकका लागि विश्वकप हेर्न झन् कठिन बनाएको आलोचना पनि भइरहेको छ ।

तीन देशको संयुक्त आयोजना
सन् १९९४ को विश्वकप अमेरिकाका ९ रंगशालामा मात्र आयोजना गरिएको थियो । तर, २०२६ को विश्वकप तीन देश– अमेरिका, मेक्सिको र क्यानाडामा फैलिएको छ ।

प्रतियोगिताका लागि १६ रंगशाला प्रयोग हुन्छन् । जसमा अमेरिकाका ११, मेक्सिकोका तीन र क्यानाडाका दुई रंगशाला समावेश छन् ।

फिफाले विश्वकपलाई अझ व्यापक बनाउने उद्धेश्यले तीन देशीय आयोजनाको अवधारणा ल्याएको हो । यद्यपि क्वार्टरफाइनलपछि हुने सबै खेल अमेरिकामै खेलाइनेछन् ।

रोचक कुरा के छ भने, १९९४ मा आयोजक शहरमध्येको एक शिकागो यसपटकको सूचीमा छैन । आर्थिक ग्यारेन्टीसम्बन्धी विषयमा फिफासँग सहमति नजुटेपछि शिकागोले आयोजक बन्न अस्वीकार गरेको थियो ।

दर्शकको उपस्थितिमा नयाँ कीर्तिमानको अपेक्षा
सन् १९९४ को विश्वकप अझै पनि दर्शक उपस्थितिको हिसाबले सबैभन्दा सफल विश्वकपमध्ये एक मानिन्छ । ५२ खेलमा कूल ३.५९ मिलियन दर्शक रंगशालामा पुगेका थिए, जसको औसत प्रति खेल झण्डै ६९ हजार थियो ।

यसपटक १०४ खेल हुने भएकाले कूल दर्शक संख्या ६ देखि ७ मिलियनसम्म पुग्ने अनुमान गरिएको छ । यदी त्यस्तो भयो भने विश्वकप इतिहासमा नयाँ कीर्तिमान स्थापित हुनेछ ।

आधुनिक रंगशाला
सन् १९९४ मा प्रतियोगिता विभिन्न एनएफएल रंगशालामा आयोजना गरिएको थियो । जसमा अहिले भत्काइसकिएका जायन्ट्स रंगशाला, फक्सबोरो रंगशाला, पोन्टियाक सिल्भरडोम र आरएफके रंगशाला पनि थिए ।

अहिले सन् २०२६ मा भने अमेरिकाका सबै ११ रंगशाला आधुनिक एनएफएल रंगशाला हुन् । जहाँ प्रशस्त लक्जरी सुइट, प्रिमियम सिटिङ र अत्याधुनिक दर्शक सुविधा उपलब्ध छन् । १९९४ का ऐतिहासिक रंगशालामध्ये रोज बाउल, कटन बाउल, सिट्रस बाउल र स्ट्यानफोर्ड रंगशाला यसपटक प्रयोग गरिएका छैनन् ।

खेलाडीको सुविधा र सुरक्षा
खेलाडीको सुविधा र सुरक्षामा पनि ठूलो परिवर्तन आएको छ । सन् १९९४ मा टोलीहरुले अत्याधिक गर्मीबीच कुनै ‘कुलिङ ब्रेक’ विना खेल्नुपथ्र्यो । कतिपय खेलमा मौसम नै मुख्य चुनौती बनेको थियो ।

२०२६ मा पनि सबैभन्दा चुनौतीको विषय गर्मी नै हो । तर, प्रत्येक हाफमा तीन मिनेटको ‘वाटर ब्रेक’ अनिवार्य गरिएको छ । यसले खेलाडीलाई आराम गर्ने अवसर मात्र होइन, प्रशिक्षकलाई पनि रणनीतिक निर्देशन दिने समय प्रदान गर्नेछ ।

मैदानको आकार पनि अहिले पूर्ण रुपमा ‘स्ट्यान्डरडाइज’ गरिएको छ । १९९४ मा केही रंगशालामा साँघुरा मैदान प्रयोग गर्न अनुमति दिइएको थियो । तर, यसपटक सबै मैदान फिफाको मापदण्डअनुसार परिमार्जन गरिएका छन् ।

बढी लचकता
आधुनिक फुटबलमा खेलाडीको स्वास्थ्य र शारीरिक व्वस्थापनलाई बढी प्राथमिकता दिइन्छ । सन् १९९४ मा टोलीहरुले केवल दुई खेलाडी परिवर्तन गर्न पाउँथे । विशेष अवस्थामा मात्र गोलकिपरका लागि अतिरिक्त परिवर्तनको व्यवस्था थियो ।

अहिले प्रत्येक टोलीले ‘रेगुलर टाइम’मा पाँच खेलाडी परिवर्तन गर्न सक्छन् । खेल अतिरिक्त समयमा पुगेमा छैटौं परिवर्तनको सुविधा छ भने ‘कन्कसन’ अर्थात टाउकोमा गम्भीर चोट लागेमा थप परिवर्तन गर्न सकिन्छ । यसले प्रशिक्षकलाई खेलाडीको थकान व्यवस्थापन गर्न र खेलको गति उच्च राख्न सहयोग पुर्याएको छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको