काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. १० को आयोजनामा सम्पन्न राष्ट्रव्यापी प्रथम वडा अध्यक्ष कप खुला फिडे र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम क्षितिज भण्डारीले जितेका छन्। प्रतियोगिताका शीर्ष वरीयताप्राप्त २२०० रेटिङका भण्डारीले ९ चरणमध्ये ८ खेलमा जित र १ खेल बराबरी खेल्दै ८.५ अंकसहित अपराजित रहँदै उपाधि जितेका हुन्।
उपाधि विजेता भण्डारीलाई बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ र वडा नं. १० का अध्यक्ष रामकुमार केसीले नगद ३५ हजार रुपैयाँ, ट्रफी तथा स्वर्ण पदक प्रदान गरे।
प्रतियोगितामा तीन खेलाडीले समान ७.५ अंक जोडेका थिए। टाइब्रेकका आधारमा सिएम शुश्रुत दाहाल दोस्रो बने। २११९ रेटिङका दाहालले नगद ३० हजार रुपैयाँ, ट्रफी तथा रजत पदक प्राप्त गरे। २०४६ रेटिङका धिरेन राई तेस्रो हुँदै २४ हजार रुपैयाँ, ट्रफी तथा कांस्य पदकका हकदार बने। समान ७.५ अंक जोडेका सबिनचन्द्र घिमिरे चौथो स्थानमा रहे र १४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
यस्तै, आशिष फुयाँल, सिएम नवीन तण्डुकार, कमल श्रेष्ठ, सुरोज महर्जन र गणेशमान दुवाल पाँचौँदेखि दशौँ स्थानसम्म रहँदै जनही १० हजार रुपैयाँ पुरस्कार जित्न सफल भए। एघारौँदेखि पन्ध्रौँ स्थानसम्मका खेलाडीले जनही ७ हजार ५०० रुपैयाँ तथा सोह्रौँदेखि बीसौँ स्थानसम्मका खेलाडीले जनही ५ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गरे।
महिला विधातर्फ रिया श्रेष्ठ प्रथम भइन्। महिला विधाका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त खेलाडीलाई जनही १२ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। साथै उमेर समूह, रेटिङ समूह, अनरेटेड तथा उत्कृष्ट स्थानीय खेलाडीलाई समेत पुरस्कार वितरण गरिएको थियो।
पुरस्कार वितरण समारोहमा अध्यक्ष रामकुमार केसीले अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) मान्यताप्राप्त प्रतियोगितामा १८१ खेलाडीको सहभागिता रहेको जानकारी दिए। उनका अनुसार शीर्ष २० खेलाडी तथा विभिन्न विधाका उत्कृष्ट गरी ४७ जना खेलाडीलाई कुल ३ लाख ३७ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो।
अध्यक्ष केसीले मानसिक सन्तुलन, स्मरणशक्ति, तार्किक क्षमता र योजना निर्माणजस्ता पक्षको विकासमा बुद्धिचाल खेलको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विद्यालय तहदेखि नै यसको विस्तार गर्न सञ्चारमाध्यमको सहयोग आवश्यक रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले बुद्धिचाललाई सबै नागरिकको पहुँचमा पुर्याउनुपर्ने धारणा राख्दै आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराए।