उपाधिका लागि बुढानिलकण्ठ र ग्रान्डी स्टार्स खेल्ने

काठमाडौं। १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल प्रतियोगिताको उपाधिका लागि बुढानिलकण्ठ नगरपालिका र ग्राण्डी स्टार्स भिड्ने भएका छन्।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको प्रतियोगितामा बुढानिलकण्ठ र ग्राण्डीले बुधबार सेमिफाइनल खेल जित्दै फाइनलमा स्थान बनाएका हुन्।

कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा ग्राण्डी स्टार्सले आइएसए नेपाललाई ६६-३२ को अन्तरले हरायो। चारै क्वाटरमा अग्रता बनाएको ग्राण्डी स्टार्सले १५-७, २८- १०, १२-८, ११-७ को प्रदर्शन गर्‍यो।

यस खेलमा ग्राण्डी स्टार्की स्मृति पाइजुले सर्वाधिक १४ अंक स्कोर गरिन्। उनी प्लेअर अफ दि म्याच घोषित भइन्। यस्तै दोस्रो सेमिफाइनलमा बुढानिलकण्ठले सुनसरी बास्केटबल एसोसिएसनलाई ७२-३९ ले सहजै हरायो। बुढानिलकण्ठले तीन क्वाटरमा अग्रता बनाउने क्रममा १९-११, २१-४, १३-१६, १९-८ को प्रदर्शन गर्‍यो।

बुढानिलकण्ठको जितमा उर्जा राना मगरले सर्वाधिक २१ अंक स्कोर गरिन्। उनी प्लेअर अफ दि म्याच घोषित भइन्। प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) लाई १० हजार, उदीयमान टोलीलाई १० हजार तथा उपत्यकाबाहिरबाट सहभागी उदीयमान खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ।

नेपाल बास्केटबल संघले एक दशकपछि आयोजना गरेको यस महिला बास्केटबलको राष्ट्रिय प्रतियोगिता साबा महिला बास्केटबल च्याम्पियनसिपको लागि राष्ट्रिय टिम छनोटको आधार समेत रहेको बास्केटबल संघले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको