स्ट्रिट विश्वकप फुटबल छनोट हुने

काठमाडौँ। एलपीएस म्यानेजमेन्ट प्रालि, एस एन्ड एस हेल्थ एन्ड रिसर्च सेन्टर र ट्रिपल टु प्रोडक्सन प्रालिको आयोजनामा जुलाई १ देखि १९ तारिखसम्म थ्री वाइ थ्री स्ट्रिट विश्वकप फुटबल छनोट प्रतियोगिता हुने भएको छ।

छनोट खेलमा देशभरका ९५ टोलीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा एलपीएस म्यानेजमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बिकल्प खरेलले जानकारी दिएका छन्।

सहभागी टोलीलाई २३ समूहमा विभाजन गरिनेछ। समूह चरणपछि, नकआउटका खेलहरु राउन्डअप ३२, १६, क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछ। फाइनल खेलको विजेता टोलीले नेदरल्यान्ड्समा आगामी सेप्टेम्बर २ देखि ६ तारिखसम्म आयोजना हुने स्ट्रिट विश्वकप फुटबलमा नेपालको प्रतिनिधित्व गर्नेछ।

छनोटका खेलहरु काठमाडौँको टेकुस्थित कुमा ननी, तबहाल, लगन, ओमबहाल र तेबहाल संकटामा हुनेछ। युवा प्रतिभाको पहिचान तथा खेलाडीलाई अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्ने उद्देश्यले ‘एक्स्ट्रिम फुटबल फिभर आईएसएफए थ्री वाइ थ्री स्ट्रिट फुटबल विश्वकप छनोट’ गरिन लागिएको आयोजकले जनाएको छ।

नेपालले गतवर्ष चीनमा भएको थ्री वाइ थ्री स्ट्रिट विश्वकप फुटबलमा पनि प्रतिस्पर्धा गरेको थियो। त्यतिबेला नेपालको तर्फबाट सरस्वती युथ क्लबले भाग लिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको