मेन्टेन एफसीलाई पेसएक्स प्रिमियर फुटसल लिगको उपाधि

काठमाडौँ। पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ।

बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा मेन्टेन एफसीले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै होराक एफसी भने प्रतियोगिताको उपविजेतामा सीमित बनेको छ।

फाइनल खेलको सुरुवातदेखि नै दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल देखिएको थियो। खेलको दोस्रो मिनेटमै सन्दीप कार्कीले गोल गर्दै होराकलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, लगत्तै मेन्टेनका तर्फबाट रविन चौलागाईंले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

खेलको नवौँ मिनेटमा होराकका लागि सैलेन्द्र मगरले अर्को गोल गरेपछि पहिलो हाफमा होराक २-१ ले अघि रह्यो।

दोस्रो हाफको अन्तिम मिनेटमा होराकले पुनः गोल गर्दै ३-१ को बलियो अग्रता बनाएको थियो। तर, खेलको अन्तिम समयमा मेन्टेनका योगेश श्रेष्ठले उत्कृष्ट पुनरागमन गराए। योगेशले लगातार दुई गोल गर्दै खेललाई ३-३ को बराबरीमा पुर्‍याएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

पेनाल्टी सुटआउटमा मेन्टेनले ४-३ को जित निकाल्दै पहिलो संस्करणको उपाधि चुम्न सफल भयो। साउन १५ देखि १७ गतेसम्म आयोजना भएको यस प्रतियोगितामा कुल ३२ वटा टोलीको सहभागिता रहेको थियो।

यसैगरी, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा ठमेल ११ ले रोयल नेपाललाई २-१ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्‍यो।

प्रतियोगिताको विजेता बनेको मेन्टेन एफसीले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथै आकर्षक ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको होराक एफसीले रु ५१ हजार १ सय ११ र तेस्रो स्थान हासिल गरेको ठमेल ११ ले रु २१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाएका छन्।

विधागततर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको