समसुद्दिनलाई एनओसीको विदाइ

काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय प्राविधिक अधिकृत (इन्टरनेसनल टेक्निकल अफिसर) को भूमिका निर्वाह गर्न उज्बेकिस्तानको तास्केन्त प्रस्थान गर्ने सिद्दिकी समसुद्दिनलाई बुधबार शुभकामनासहित विदाइ गरेका छन्।

प्रतियोगिता साउन २२ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।

विदाइ कार्यक्रममा अध्यक्ष श्रेष्ठले खेलकुदको विकासमा प्राविधिक जनशक्तिको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। उनले खेलाडी सबैको केन्द्रमा रहने भए पनि प्राविधिक अधिकृत, रेफ्री, प्रशिक्षक, व्यवस्थापक तथा अन्य सहयोगीको योगदान खेलकुदको समग्र विकासका लागि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरे।

अध्यक्ष श्रेष्ठले नेपाल भारोत्तोलन संघको निरन्तर प्रयासका कारण नेपाली प्राविधिक अधिकृतहरूले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्दै आएको भन्दै त्यसको श्रेय संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई दिए। उनका अनुसार यस्ता पहलले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको उपस्थितिलाई अझ सुदृढ बनाउनेछ।

विदाइ कार्यक्रममा नेपाल भारोत्तोलन संघका सचिव कुमारमान श्रेष्ठको पनि उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको