काठमाडौं। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति फेरि घोषणा गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को १२५औँ बोर्ड बैठकले प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको हो।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ सालमा पोखरामा सम्पन्न भएयता दशौं राष्ट्रिय खेलकुदको मिति चारपटक तय भए पनि प्रतियोगिता निर्धारित समयमा सञ्चालन हुन सकेको छैन। यसअघि प्रतियोगिता २०८१ मंसिर २ देखि ९ गतेसम्म, त्यसपछि २०८१ चैत २३ देखि ३० गतेसम्म, २०८२ जेठ ३ देखि १० गतेसम्म र पछिल्लो पटक २०८२ फागुन १ देखि ७ गतेसम्म आयोजना गर्ने निर्णय गरिएको थियो। तर ती कुनै पनि मितिमा प्रतियोगिता सञ्चालन हुन सकेन।
यसपटक भने राखेपले मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने नयाँ मिति तय गरेको छ। पटक–पटक मिति तोकिएर पनि प्रतियोगिता हुन नसकेको अवस्थामा नयाँ मितिमा प्रतियोगिता सम्पन्न गर्नु राखेपसँगै कर्णाली प्रदेशका लागि पनि ठूलो चुनौती बनेको छ।
दशौं राष्ट्रिय खेलकुद आयोजना हुने मुख्य क्षेत्र कर्णाली प्रदेशको राजधानी सुर्खेत भएकाले अब प्रतियोगिताका लागि आवश्यक खेल पूर्वाधार, खेलस्थल, खेलाडी तथा टोलीको व्यवस्थापन, आवास, यातायातलगायतका तयारीलाई तीव्रता दिनुपर्नेछ। निर्धारित समयमै सबै तयारी पूरा गर्न प्रदेश सरकार, स्थानीय तह, राखेप तथा सम्बन्धित खेल संघबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ।
यसअघि पूर्वाधार तथा तयारीकै कारण प्रतियोगिता पटक–पटक सर्दै आएकाले यसपटक भने त्यस्तो अवस्था दोहोरिन नदिन आयोजक निकायमाथि थप दबाब परेको छ।