नामिबियासँग नेपाल ८ विकेटले पराजित

काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचमा मंगलबार भएको खेलमा नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको छ।

नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाउँदै १६० रन बनाएर पूरा गर्‍यो। नामिबियाले ७४ बल बाँकी रहँदै सहज जित दर्ता गरेको हो।

नामिबियाको जितमा जान फ्राइलिंक ८९ बलमा ८ चौका र १ छक्कासहित अविजित ७८ रन बनाए। माइकल भान लिङ्गेनले ७९ बलमा ४ चौकासहित ५१ रन जोडे। जान निकोल लोफ्टी–इटन ३९ बलमा १७ रनमा अविजित रहे।

नेपालका लागि रोहित पौडेल र नन्दन यादवले समान एक–एक विकेट लिए। अन्य नेपाली बलरले भने विकेट लिन सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमा समेटिएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाएका थिए भने दिपेन्द्रसिंह ऐरीले ३० रनको योगदान दिएका थिए। नामिबियाका जेजे स्मिटले ६ विकेट लिएर नेपालको ब्याटिङ धराशायी पारेका थिए।

यस जितसँगै नामिबियाले विश्वकप लिग–२ मा महत्वपूर्ण दुई अंक जोडेको छ भने नेपालले शृङ्खलाको सुरुआती खेलमा हार बेहोरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको