काठमाडौं। डानियल आर्सिलाले दुई गोल गरेपछि क्लब लिओनले इन्टर मियामीलाई ३–२ ले पराजित गर्दै लिग्स कपको नकआउट चरणमा स्थान बनाएको छ।
पिताको निधनपछि पहिलोपटक मैदान फर्किएका लिओनल मेस्सी दोस्रो हाफको सुरुवातमै मैदान प्रवेश गरेका थिए। उनी मैदान छिर्दा समर्थकहरूले ताली बजाउँदै स्वागत गरेका थिए।
मियामीले खेलको ४२औँ मिनेटमा डानियल पिन्टरको गोलमार्फत अग्रता लिएको थियो। तर, दोस्रो हाफमा लिओनले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो।
५०औँ मिनेटमा आर्सिलाले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि जुआन पाब्लो डोमिङ्गेजले लियोनलाई अग्रता दिलाए। आर्सिलाले ८३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लियोनको जित पक्का गरे।
मियामीका लागि यानिक ब्राइटले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
सन् २०२३ को लिग्स कप विजेता मियामी यसपटक भने प्रतियोगिताबाट बाहिरिएको छ। लगातार दुई खेल जितेको लिओनले भने नकआउट चरणमा प्रवेश गरेको छ।