काठमाडाैं। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले नयाँ सिजनमा गोलको खाता खोल्दा अल नासरले साउदी प्रो लिगमा अल रियादलाई ४–० गोलले पराजित गरेको छ।
विश्वकपपछि पहिलो पटक मैदानमा फर्किएका रोनाल्डोले दोस्रो हाफमा मैदान प्रवेश गर्दै खेलको ८३औँ मिनेटमा गोल गरे। योसँगै उनले २०२६–२७ सिजनमा आफ्नो पहिलो गोल गरेका हुन्।
रोनाल्डोका लागि यो आफ्नो व्यावसायिक करियरको २५औँ सिजन हो। अल रियादविरुद्धको गोलसँगै उनको करियर गोल संख्या ९७७ पुगेको छ। अब उनी १,००० गोलको ऐतिहासिक आँकडाबाट २३ गोल मात्र टाढा छन्।
अल नासरको जितमा अब्दुलेलाह अल अम्री, एन्जेलो र जोआओ फेलिक्सले पनि गोल गरे। जितसँगै अल नासरले साउदी प्रो लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ।