आर्सनलको विजयी सुरुआत, कोभेन्ट्री सिटीमाथि ३–० को सहज जित

काठमाडौं। इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले शानदार सुरुवआत गरेको छ। आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीलाई ३–० गोलले पराजित गर्दै उपाधि रक्षा अभियानमा सुरु गरेको हो।

लन्डनस्थित एमिरेट्स स्टेडियममा शुक्रबार राति भएको खेलमा आर्सनलले सुरुआतदेखि नै खेलमा पकड बनाएको थियो। काइ हाभर्ट्जले १५औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए। त्यसको आठ मिनेटपछि बुकायो साकाले गोल गर्दै टोलीको अग्रता २–० मा पुर्‍याए।

दोस्रो हाफ सुरु भएको चार मिनेटमै कप्तान मार्टिन ओडेगार्डले तेस्रो गोल थपे। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसकेपछि आर्सनल ३–० ले विजयी भयो।

यस जितसँगै आर्सनलले पहिलो खेलबाटै तीन अंक जोडेको छ भने कोभेन्ट्री सिटीले हारबाट प्रिमियर लिगको यात्रा सुरु गरेको छ।

आर्सनलले प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि म्यानचेस्टर सिटीलाई ३–० ले हराउँदै कम्युनिटी शिल्डको उपाधि पनि जितेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको