नेपाललाई हाप्किडोमा एक स्वर्ण र एक कांस्य पदक

काठमाडौं। दक्षिण कोरियामा जारी ११औँ विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र एक कांस्य पदक जितेका छन्।

प्रतियोगिताको फाइट क्योरुगी विधामा नेपालका दिपक छन्त्यालले स्वर्ण र मेग्मा गुरुङले कांस्य पदक जितेका हुन्। मेग्माले गत संस्करणमा रजत जितेकी थिइन्। ८०–८४ केजीतौल समूहमा प्रतिस्पर्धा गरेका दिपकले स्वर्ण पदक जित्ने क्रममा तीन चरणमा प्रतिस्पर्धा गरेका थिए। पहिलो खेलमा उनले जर्मनीका खेलाडीलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरे।

त्यसपछि सेमिफाइनलमा दक्षिण कोरियाका खेलाडीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरे। फाइनलमा दिपकले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जनाएका छन्।

दुवै खेलाडीको सफलतालाई नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको नेपाल हाप्किडो संघका महासचिव इन्द्रबहादुर महराले बताए। उनले नेपाली खेलाडीको प्रदर्शनले अन्तर्राष्ट्रिय हाप्किडोमा नेपालको पहिचान थप बलियो बनाएको बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको