काठमाडौं। ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलकाे संयुक्त आयोजनामा सम्पन्न पब्जी माेबाईल राष्ट्रिय प्रतियाेगिता (पिएमएसएल) फल सिजनकाे उपाधि डट्स ई स्पोर्ट्सले जितेको छ। विजेता टोलीले पुरस्कारस्वरूप ४ सय अमेरिकी डलर प्राप्त गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्बाट राष्ट्रिय खेलकुद प्रतियोगिताकाे स्वीकृत कार्यक्रम अनुसार देशभरबाट छनोट भएका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए। दशरथ रंगशालास्थित कभर्ड हलमा भदौ ६ र ७ गते सञ्चालन भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स एस्पोर्ट्सले उपाधि हात पारेको हो।
विजेता टिमलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र ईशानका कार्यवहाक अध्यक्ष हिम बिक्रम केसीले पुरस्कार तथा ट्रफी हस्तान्तरण गर्नुभएको थियो।
प्रतियोगिताबाट उत्कृष्ट १२ टोलीले ‘राेड टू पिएमजीओ’ अन्तर्गतको अर्को चरणमा प्रवेश गरेका छन्। यस चरणले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरकाे प्रतियोगितामा पुग्ने बाटो खोल्नेछ।
नेपालमा ई–स्पोर्ट्सलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियाेगिताकाे सफल आयाेजना गरिएकाे संघका सचिव आशिष दाहालले जानकारी दिए।