अल–नासरको १० खेलाडीमा सीमित पुनरागमन, लगातार तेस्रो जित

काठमाडौं । साउदी प्रो लिगमा अल–नासरले अल–इत्तिफाकमाथि रोमाञ्चक पुनरागमन गर्दै ३–२ को जित निकालेको छ। दुई गोलले पछि परेको अवस्थामा १० खेलाडीमा सीमित अल–नासरले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो।

अल–इत्तिफाकले ओन्ड्रेज डुडाको ३१औँ मिनेटको गोलसँगै अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा अल्भारो मेद्रानले गोल थपेपछि अल–नासर २–० ले पछि परेको थियो। त्यसअघि नै गोलरक्षक बेन्टो १२औँ मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए।

तर दोस्रो हाफमा अल–नासरले खेलको रूप नै बदल्यो। साडियो मानेले ७४औँ मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काए। अब्दुललेला अल–अम्रीले ७७औँ मिनेटमा बराबरी गोल गरेपछि मानेले इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै अल–नासरलाई ३–२ को रोमाञ्चक जित दिलाए।

यो जितसँगै अल–नासरले सिजनको सुरुआती तीनै खेल जित्दै लगातार तेस्रो जित दर्ता गरेको छ। खेलकाे दाेस्राे हाफमा भने कप्तान किस्टियानाे राेनाल्डाेलाई प्रशिक्षकले परिवर्तन गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको