काठमाडाैं। विराटनगर किङ्सले रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
क्लबले विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
बाढीपीडितलाई तत्काल राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले विराटनगर किङ्सका तर्फबाट १५ लाख रुपैयाँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा योगदान गर्ने निर्णय गरिएको क्लबले जनाएको छ।
क्लबले खेल र खेलाडीको भूमिका मैदानमा मात्र सीमित नरहेको भन्दै राष्ट्रिय विपद्का हरेक कठिन घडीमा देश र नागरिकको साथमा उभिनुपर्ने आफ्नो विश्वास रहेको उल्लेख गरेको छ।
साथै, रसुवाका बाढी प्रभावित नागरिकलाई सहयोग गर्न सम्पूर्ण नागरिक, संघ–संस्था तथा सरोकारवाला निकायलाई एकताबद्ध भएर अघि बढ्न विराटनगर किङ्सले अपिल गरेको छ।