काठमाडौं, कात्तिक ११ गते । सलिको गल्फ प्रतियोगिता आगामी शनिबार गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुने भएको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा हुने एकदिने प्रतियोगितामा करिब एक सय एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने भएका छन्।
आयोजक सलिकोले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिए। नेपाली कर्पोरेट क्षेत्रका खेलाडीको सहभागिता रहने गोकर्ण गल्फ कोर्षको डाइरेक्टर दीपक आचार्यले बताए। प्रतियोगिता कुल १८ होलको पार ७२ कोर्समा हुनेछ।
प्रतियोगिताको दशौं होल (पार थ्री) मा होल इन वान गर्ने पहिलो खेलाडीले टाटा नेक्सन गाडी प्राप्त गर्ने कोर्ष डाइरेक्टर आचार्यले बताए। प्रतियोगिताको यो पुरस्कार मुख्य आकर्षणका रूपमा रहेको छ।
कर्पोरेट प्रतिस्पर्धा भएकाले नगद पुरस्कार नहुने भएको छ। पुरुषतर्फ विजेता र उपविजेता, बेस्ट ग्रस, महिलामा विजेता र उपविजेता, ६० वर्षमाथिका खेलाडीबीच सिनियर विजेता तथा ७० वर्षमाथिका खेलाडीबीच सुपर सिनियर विजेतालाई पुरस्कृत गरिनेछ। मोस्ट बर्डिज, क्लोजेस्ट टु द पिन, लङ्गेस्ट ड्राइभ र ‘सलिको ३० वर्षको विश्वास’ विधामा पनि पुरस्कार प्रदान गरिने छ।