साफ च्याम्पियनसिपमा बंगलादेशको विजयी सुरुआत

काठमाडौं। साफ च्याम्पियनसिप २०२६ मा बंगलादेशले विजयी सुरुवात गरेको छ। बिहीबार भएको समूह चरणको आफ्नो पहिलो खेलमा बंगलादेशले भुटानलाई १–० गोलले पराजित गरेको हो।

ढाकास्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशको जितमा मोहम्मद इब्राहिमले निर्णायक गोल गरे। उनले खेलको ६९औँ मिनेटमा गोल गरेका थिए।

६५औँ मिनेटमा मैदान प्रवेश गरेका इब्राहिमले चार मिनेटपछि नै गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए। शमित शोमेको हेडरलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले दोस्रो हाफमा गोल गर्दै तीन अंक जोड्न सफल भयो। यस जितसँगै बंगलादेशले प्रतियोगितामा आफ्नो यात्रा तीन अंकबाट सुरु गरेको छ।

बिहीबार भएको उद्घाटन खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ३–२ गोलले पराजित गर्‍यो। भारतको जितमा सुहाइल अहमद भाटले दुई तथा माङ्गलेन्थाङ किप्गेनले एक गोल गरे। पाकिस्तानका नजीब उल्लाह र आलमगीर घाजीले इन्जुरी समयमा गोल फर्काए पनि हार टार्न सकेनन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको