काठमाडौं । साउदी प्रो लिगअन्तर्गत शुक्रबार हुने तय भएको अल हाजेम र अल नासरबीचको खेल स्थगित भएको छ। लिगको १३औँ चरणका सबै खेल स्थगित गरिएपछि क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरको खेल पनि रोकिएको हो।
एसियन फुटबल महासंघ (एएफसी) ले सन् २०२७ मा साउदी अरेबियामा आयोजना हुने एसियन कपको मिति परिवर्तन गरेपछि साउदी प्रो लिगले खेल तालिकाको पुनरावलोकन गर्ने निर्णय गरेको हो।
यसअघि सन् २०२७ जनवरी ७ देखि फेब्रुअरी ५ सम्म हुने तय भएको एसियन कप अब डिसेम्बर २३, २०२७ देखि जनवरी २१, २०२८ सम्म आयोजना हुनेछ। साउदी अरेबियामा भएका सुरक्षा घटनापछि एएफसीले प्रतियोगिताको मिति सारेको हो।
एसियन कपको नयाँ मितिले घरेलु लिगको खेल तालिका व्यवस्थापनमा थप सहजता सिर्जना गर्ने भन्दै साउदी प्रो लिगले १३औँ चरणका सबै खेल स्थगित गरेको जनाएको छ। खेलाडीलाई पर्याप्त आराम र पुनःस्थापनाको समय उपलब्ध गराउँदै बाँकी खेलको तालिका सन्तुलित बनाउने लिगको उद्देश्य छ।
स्थगित खेलहरूको नयाँ मिति भने सार्वजनिक गरिएको छैन।
अल नासरले ११ खेलमा २८ अंक जोडेको छ। टोली ९ जित, १ बराबरी र १ हारको नतिजासहित तालिकाको तेस्रो स्थानमा छ। अल हाजेम १२ खेलबाट १० अंक जोड्दै १४औँ स्थानमा छ।