कोशीसँग ४–१ ले हार्‍यो लुम्बिनी

११ मंसिर, काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४–१ गोलले पराजित गरेको छ।

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रङ्गशालामा सम्पन्न खेलमा कोशीको जितमा मिलन राईले १२औँ र ३२औँ मिनेटमा दुई गोल गरे। त्यस्तै, अमित बसराले १४औँ तथा सौरभ लिम्बुले ६४औँ मिनेटमा गोल गरे।

लुम्बिनीका लागि खेलको ५९औँ मिनेटमा फागुराम थारुले एक गोल फर्काए।

खेलको ५८औँ मिनेटमा कोशीका खेलाडी प्रकाश भुजेलले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। यद्यपि, कोशीले त्यसपछि पनि एक गोल थप्दै जित सुनिश्चित गर्‍यो।

पहिलो खेलमा बागमती प्रदेशसँग बराबरी खेलेको कोशीले यस जितसँगै चार अंक जोडेको छ। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अंकविहीन छ।

शुक्रबार दिउँसो २ः३० बजे बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको