काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोले खेल सकिएन दुई मिनेट बाँकी हुँदा गोल गरेपछि पोर्चुगलले विजयी हासिल गरेको छ।
युइएफए नेसन्स लिग अन्तर्गत आइतबार राति लिस्बोनस्थित बेनफिको मैदानमा भएको खेलमा पोर्चुगलले स्कटल्यान्डलाई २–१ गोलले पराजित गरेको हो।
यो सँगै पोर्चुगलले जारी नेसन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। समूह ए मा रहेको उसले दुई खेलबाट ६ अंक जोडेको छ भने पराजित स्कटल्यान्ड लगातार दोस्रो पराजयसँगै अंक विहिन छ।
खेलको सातौँ मिनेटमा स्कट टोमिनेले गोल गर्दै पोर्चुगलविरुद्ध स्कटल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० ले पछि परेको पोर्चुगलका लागि ५४औँ मिनेटमा ब्रुनो फनान्डेसले गोल गरेपछि खेल १–१ को बराबरीमा आयो।
त्यसपछि कप्तान रोनाल्डोले ८८औँ मिनेटमा नुनो मेन्डीको पासमा गोल गर्दै पोर्चुगललाई २–१ को पुनरागमन जित दिलाए। रोनाल्डो खेलको ४६औँ मिनेटमा पेड्रो नेटोको स्थानमा मैदान प्रवेश गरेका हुन्।
यो सँगै रोनाल्डोले आफ्नो करियमा ९०१ गोल गरेका भने राष्ट्रिय टिमबाट अन्र्राष्ट्रिय गोल संख्या १३२ पुर्याएका छन्।
यस्तै सोहि समूहको अर्को खेलमा क्रोएसियाले पोल्यान्डलाई १–० गोलले पराजित गरेको छ।


