अन्तर वडा फुटसलमा वडा २३ र २४ को विजयी सुरुआत


काठमाडौँ। तेस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता शनिबार सुरु भएको छ।

काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा कात्तिक २९ गतेसम्म हुने प्रतियोगताको पहिलो दिन आयोजक र वडा नं २४ ले जित हासिल गरे।

लैनचौर फुटसल मैदानमा भएको उद्घाटन खेलमा आयोजक वडा २३ ले काठमाडौँ महानगरपालिका केन्द्रलाई ६–२ ले पराजित गर्यो। सो खेलमा विजयी टिमका लाग विशाल श्रेष्ठले ह्याट्रिकसहित चार गोल गरे। वडा २३ को तर्फबाट भएका अन्य दुई गोल राजीव चित्रकार र एलेक्स श्रेष्ठको नाममा रह्यो।

काठमाडौँ महानगरपालिकाका नवीन भण्डारी र अनुप मगरले गरेको गोल सान्त्वना मात्र बने। सो खेलमा चार गोल गर्ने विशाल म्यान अफ दि म्याच घोषित भए।

दोस्रो खेलमा वडा नं २४ ले वडा नं ७ लाई ३–१ ले हरायो। वडा २४ का लािग समन श्रेष्ठ, सुभम तुलाधर र सन्देश महर्जनले गोल गरे। सन्देश म्यान अफ दि म्याच पनि चुनिए। वडा १७ का सुगम महर्जनले एक गोल फर्काएका थिए।

यसअघि, काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ। उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ। यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ। पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए।

आइतबार चार खेल हुनेछन्। पहिलो खेलमा वडा १४ खेल वडा २२, दोस्रो खेलमा वडा १२ ले वडा २०, तेस्रो खेलमा वडा ६ ले वडा ९ र अन्तिम खेलमा वडा ४ ले वडा १८ को सामना गर्नेछ। पहिलो खेल बिहान ८ बजे सुरु हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको