छैटौँ टाइगर कपको तयारी पूरा, ११ टोली सहभागी


काठमाडौं। छैटौँ संस्करणकाे टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप पूरा भएको छ।

शुक्रबारदेखि टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपको तयारी पूरा भएको हो।

च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन्।

टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले पुरुषतर्फ माल्दिभ्सको माल्दिभ्स भलिबल एशोसियसन र महिलातर्फ थाइल्याण्ड क्वीन्स विदेशी टोलीको रुपमा सहभागी जनाएको जानकारी दिए।

पुरुषतर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ छन्। महिलातर्फ तीन विभागीयसहित न्यू डायमण्ड युथ स्पोट्र्सले सहभागिता जनाएको आयोजकले जनाएको छ।

च्याम्पियनसिपको पहिलो खेल भोलि बिहान ९ बजे महिलातर्फ न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लबबिच हुनेछ। दोस्रो खेल पुरुषतर्फको आर्मी र माल्दिभ्स भलिबलबिच हुने तालिका छ । उद्घाटन खेल गण्डकी प्रदेश र एपीएफबिच हुने आयोजकले जनाएको छ।

च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिता आयोजना गर्दा करिब एक करोड ८० लाख खर्च लाग्ने अध्यक्ष शर्माले जानकारी दिए। खेल हेर्नका लागि पहिलोपटक सिजनल टिकटको व्यवस्था गरिएको छ। ३ हजार ५ सय रुपैयाँमा दर्शकले प्रतियोगिताका सबै खेल हेर्न पाउनेछन्।

भिडियाे लि‌क : https://youtu.be/6hi1ezX-yUM


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको