टाइगर कप : उपाधिका लागि पर्वत र गण्डकी भिड्ने


पोखरा। छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश भलिबल संघ र पर्वत जिल्ला खेल्ने भएका छन्।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न पुरुषतर्फ लिग चरणको अन्तिम खेलमा गण्डकीले पर्वतलाई ३–२ को सेटमा हराउँदै फाइलमा पुगेका हुन्।

पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाउन पुग्यो । पुनः तेस्रो सेटमा २५–२२ ले जित निकालेको गण्डकीले चौथो सेट २३–२५ ले पर्वतलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलियो। पाँचौं सेटमा १५–१३ को जित निकाल्दै गण्डकीले २ अंक प्राप्त ग¥यो। पाँचौं सेटमा पराजित पर्वतले एक अंक पायो। गण्डकी ५ खेलबाट ११ अंक र पर्वत १० अंकसहित पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्।

समान १० अंक रहेको नेपाल पुलिस क्लब सेटका आधारमा पर्वतभन्दा पछि रहँदै अंक तालिकाको तेस्रो स्थानमा रह्यो। त्रिभुवन आर्मी क्लब चौथो, सशस्त्र प्रहरी बल एपीएफ पाँचौं र माल्दिभ्स भलिबल एसोसियसन छैटौं भयो।

गण्डकी र पर्वतबिचको फाइनल खेल शनिबार दिउँसो २ बजेबाट सुरु हुनेछ। त्यसभन्दा अघि तेस्रो स्थानका लागि खेल हुनेछ। तेस्रो स्थानका लागि अंक तालिकाको तेस्रो स्थानमा रहेको पुलिस र चौथो स्थानमा रहेको आमी भिड्नेछ। उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ। च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली २ लाख ६ हजार ६६६ रुपैयाँ पाउनेछन्।

यसअघि आज भएको महिलातर्फका फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोट्स क्लबले उपाधि जितेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको