लगातार तीन हारपछि हाउण्ड्सको दोस्रो जित


काठमाडौं । केभिसी हाउण्ड्सले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा लगातार दोस्रो जित हात पारेको छ। सुरुवाती तीन खेलमा लगातार पराजित भएको हाउण्ड्सले बुधबार कीर्तिपुर बास्केटबललाई ६८-५१ ले पराजित गर्दै दोस्रो जित निकालेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा हाउण्ड्सले पहिलो क्वाटरमा १६-११ को अग्रता बनाएको थियो। दोस्रो क्वाटरमा हाउण्ड्स र कीर्तिपुरले १६-१६ अंक जोड्दा हाफटाइम्सम्म हाउण्ड्सले ३२-२७ को अग्रता बनाएको थियो।

तेस्रो क्वाटर कीर्तिपुरले १८-१७ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत देखाएको थियो। तर चौथो क्वाटरमा हाउण्ड्सले एकपक्षिय प्रदर्शन गर्दै १९-६ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो। हाउण्ड्सका कप्तान विजय बुर्जाले सर्वाधिक २६ अंक स्कोर गरे। उनी म्यान अफ दि म्याच घोषित भए।

लगातार दोस्रो जितपछि हाउण्ड्सले ५ खेलबाट ७ अंक जोडेर चौथो स्थानमा उक्लेको छ। कीर्तिपुरको भने यो तेस्रो हार हो। कीर्तिपुरले पनि ५ खेलबाट ७ अंक नै जोडेको छ र पाँचौ स्थानमा छ। यस्ते मंगलबार राती सम्पन्न खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले प्लेबक्स एरेनामाथि एक अंकको रोमाञ्चक जित हात पारेको छ। निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा गोल्डेनगेटले प्लेबक्सलाई ७७-७६ ले पराजित गर्‍यो।

गोल्डेनगेटले पहिलो क्वाटर १७-१५ र दोस्रो क्वाटर १८-१६ ले आफ्नो पक्षमा पारेपछि हाफटाइमसम्म ३५-३१ को अग्रता बनाएको थियो। त्यस त्यसपछि प्लेबक्स खेलमा फर्कियो। तेस्रो क्वाटर प्लेबक्सले २०-१८ ले आफ्नो पक्षमा पार्दै अग्रता छोट्याएको थियो र चौथो क्वाटरअघि खेल रोमाञ्चक मोडमा पुगेको थियो। चौथो क्वाटर पनि प्लेबक्सले २५-२४ ले आफ्नो पक्षमा पार्‍यो। तर पनि खेल जित्न भने सकेन। अन्तिममा गोल्डेनगेट एक अंकले विजयी भयो। खेलमा गोल्डेनगेटका विकास गुरुङले सर्वाधिक १८ अंक स्कोर गरे। गुरुङ म्यान अफ दि म्याच घोषित भए।

चार खेलमा गोल्डेनगेटको तेस्रो जित हो भने प्लेबक्सको तेस्रो हार हो । गोल्डेनगेट ४ खेल बाट ७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन्। यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको