म्याड्रिड डर्बीमा रियलको रोमाञ्चक जित


काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न रोमाञ्चक म्याड्रिड डर्बीमा रियल म्याड्रिडले एथ्लेटिको म्याड्रिडलाई ३–२ गोलले पराजित गरेको छ।

खेलको पहिलो हाफमा एथ्लेटिको म्याड्रिडले अग्रता लिएको थियो। ३३औँ मिनेटमा एडेमोला लुकम्यानले गोल गर्दै टोलीलाई १–० को अवस्थामा पुर्‍याएका थिए।

दोस्रो हाफमा भने रियलले उत्कृष्ट पुनरागमन गर्‍यो। ५२औँ मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। त्यसपछि ५५औँ मिनेटमा फेडेरिको भाल्भेर्देले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए।

६६औँ मिनेटमा नाहुएल मोलिनाले शानदार गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। तर ७२औँ मिनेटमा पुनः भिनिसियस जुनियरले उत्कृष्ट गोल गर्दै रियललाई ३–२ को निर्णायक अग्रता दिलाए।

खेलको ७७औँ मिनेटमा फेडेरिको भाल्भेर्दे रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि अन्तिम समयमा एथ्लेटिको म्याड्रिडले लगातार दबाब बनाए पनि गोल गर्न असफल रह्यो।

यस जितसँगै रियल म्याड्रिडले २९ खेलबाट ६९ अंक जोडेको छ। यो अंक शीर्ष स्थानको बार्सिलोनाभन्दा ४ अंकले कम हो। पराजित एथ्लेटिको म्याड्रिड २९ खेलबाट ५७ अंकमा सीमित रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको