काठमाडाैं। इंग्ल्यान्डको प्रतिष्ठित लिग कपको फाइनलमा म्यानचेस्टर सिटीले आर्सनललाई २–० ले पराजित गर्दै उपाधि जितेको छ। वेम्ब्ली रंगशालामा सम्पन्न खेलमा सिटीका युवा खेलाडी निको ओराइली नायक बने।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। तर दोस्रो हाफमा म्यानचेस्टर सिटीले आक्रामक खेल प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्यो।
६०औँ मिनेटमा आर्सनलका गोलरक्षक केपा अरिजाबालागाको कमजोरी सिटीका लागि निर्णायक बन्यो। रायन चेर्कीको क्रसलाई केपाले राम्रोसँग नियन्त्रण गर्न नसक्दा निको ओराइलीले नजिकबाट हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए।
त्यसको चार मिनेटपछि फेरि चेर्कीकै उत्कृष्ट पासमा म्याथियुस नुनेसले दिएको क्रसलाई ओराइलीले सहज रूपमा जाली चुमाउँदै व्यक्तिगत दोस्रो गोल गरे। यससँगै सिटीले २–० को स्पष्ट अग्रता बनायो।
यस जितसँगै प्रशिक्षक पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीका लागि आफ्नो १९औँ उपाधि जित्न सफल भएका छन्। सिटीले कठिन क्षणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि कब्जा गर्दा आर्सनल भने फेरि ठूलो प्रतियोगितामा निराश बन्न पुगेको छ।
आर्सनलले खेलभरि निकै रक्षात्मक शैली अपनायो। यस हारसँगै आर्सनलको चार उपाधि जित्ने सपना समाप्त भएको छ भने २०२० को एफए कपपछि उनीहरूको उपाधि खडेरी पनि कायमै रहेको छ। यद्यपि प्रिमियर लिगमा आर्सनल अझै शीर्ष स्थानमा रहेकाले सिजनको अन्त्य रोमाञ्चक हुने अपेक्षा गरिएको छ।


