साफ यु–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुआत


काठमाडौँ। साफ यु–२० च्याम्पियनसिपमा नेपालले सुखद सुरुआत गरेको छ। समूह ‘ए’ अन्तर्गत सोमबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानलाई २–१ गोलले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो।

नेपालको जितमा सुजन डंगोल र सुवास बम नायक बने। खेलको पाँचौँ मिनेटमै सुजनले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता जोगाएको नेपालले दोस्रो हाफको ५२औँ मिनेटमा सुवासको गोलमार्फत अन्तर दोब्बर बनायो।

खेलको अन्त्यतिर भुटानले दबाब बढाउँदै ८३औँ मिनेटमा ढेनदुप ग्याल्जेनमार्फत एक गोल फर्काए पनि नेपालले बाँकी समय संयमित खेल प्रदर्शन गर्दै जित सुरक्षित गर्‍यो।

चैत २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ आयोजक माल्दिभ्स, श्रीलङ्का र भुटान रहेका छन्। नेपालले अब आफ्नो दोस्रो खेल मार्च २५ मा श्रीलङ्कासँग र अन्तिम समूह चरणको खेल मार्च २७ मा माल्दिभ्ससँग खेल्नेछ।

यस्तै समूह ‘बी’ मा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन्। राउन्ड रोबिन लिग चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको