न्युजिल्यान्डमा ‘साम्बा’को सफल शल्यक्रिया


काठमाडौं। नेपाली महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया न्युजिल्यान्डमा सम्पन्न भएको छ।

बुधवार बिहान अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीले सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको जानकारी साम्बाले सामाजिक सञ्जालमार्फत दिएकी छिन्।

उनले लामो प्रतीक्षापछि शल्यक्रिया सफल भएको बताउँदै सुरुवातमा कतारस्थित एस्पेटारमा उपचार गर्ने योजना रहेको उल्लेख गरेकी छिन्। तर, मध्यपूर्व क्षेत्रमा हालको असहज अवस्थाका कारण त्यहाँ पुग्न समस्या भएपछि विशेषज्ञकै सुझावमा न्युजिल्यान्डमै शल्यक्रिया गरिएको उनले स्पष्ट पारिन्।

साम्बाका अनुसार अब अकल्यान्डमै चिकित्सकको निगरानीमा पुनर्स्थापना (रिह्याब) प्रक्रिया सुरु हुनेछ। अवस्था सामान्य हुनेबित्तिकै पुनः एस्पेटारमा गएर रिह्याबलाई निरन्तरता दिने योजना पनि उनले सार्वजनिक गरेकी छिन्।

यस कठिन घडीमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै उनले विशेषगरी वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदायप्रति कृतज्ञता व्यक्त गरिन्। साथै आफ्नो क्लब वेलिंगटन फिनिक्स र व्यवस्थापन टोलीले शल्यक्रियाको समय मिलाउन दिनरात सहयोग गरेको उल्लेख गरिन्।

समर्थकहरूको माया र साथलाई आफ्नो ऊर्जा बनाउँदै साम्बाले अब पूर्ण रूपमा पुनरागमनमा केन्द्रित हुने बताएकी छिन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको