हाउण्ड्सको विजयी यात्रा जारी


काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग एचजेनएबीएलमा केभिसी हाउण्ड्सले विजय यात्रा राख्दै लगातार छैटौं जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार साँझ सम्पन्न खेलमा हाउण्ड्सले सोलो बास्केटबल क्लबलाई १०२-६९ को अन्तरले पराजित गरेको हो।
सुरुवाती तीन खेलमा पराजित भएपछि हाउण्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार खेल जित्दै आएको छ।

पहिलो क्वाटर सोलोले २५-२२ ले आफ्नो पक्षमा पारेको थियो। तर हाउण्ड्स दोस्रो क्वाटरमा खेलमा फर्कियो र दोस्रो क्वाटर २८-१९ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ५०-४४ ले अग्रता बनायो।

हाउण्ड्सले तेस्रो क्वाटर २९-१४ र चौथो क्वाटर २६-११ ले आफ्नो पक्षमा पार्दै फराकिलो जित हात पारेको हो। ९ खेलपछि १५ अंक जोडेर हाउण्ड्स चौथो स्थानमा कायम छ। हाउण्ड्सका उजेन नोर्बु गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए।

सोलोको भने यो सातौं हार हो। सोलो ९ खेलबाट ११ अंकसहित पाँचौ स्थानमा छ। बिहीबार राती सम्पन्न खेलमा गोल्डेनगेट बास्केटबल क्लबले कीर्तिपुरलाई ८७-६२ ले पराजित गरेको छ। गोल्डेनगेटका अजय कुशवाह खेलको म्यान अफ दि म्याच घोषित भए। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ। प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन्। यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको