काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ।
सोमबार सम्पन्न खेलमा राजस्थान ८ विकेटले विजयी भयो। चेन्नईले दिएको १२८ रनको लक्ष्य राजस्थानले १२.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
राजस्थानका वैभव सूर्यवंशीले सर्वाधिक ५२ रन बनाए। १७ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे। यशस्वी जैशवालले ३६ बलमा ३ चौका र १ छक्कासहित ३८ रनको योगदान दिए। यी दुईबीच पहिलो विकेटका लागि ७५ रनको साझेदारी भएको थियो।
ध्रुव जुरेल १८ रनमा आउट हुँदा कप्तान रियान पराग १४ रनमा अविजित रहे। चेन्नईका अंशुल कम्बोजले २ विकेट लिए।
त्यसअघि गुवाहाटीको बरसापारा क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो।
महेंद्रसिंह धोनी अनुपस्थित रहेको खेलमा चेन्नईका जेमी ओभरटनले सर्वाधिक ४३ रन बनाए। डेब्यू खेल खेलिरहेका कार्तिक शर्माले १८ रन जोडे भने ‘इम्प्याक्ट खेलाडी’का रूपमा मैदानमा उत्रिएका सरफराज खानले १७ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन्।
राजस्थानका लागि रविन्द्र जडेजाले २ विकेट लिए। त्यस्तै जोफ्रा आर्चर र नान्द्रे बर्गरले समान २–२ विकेट लिए। सन्दीप शर्मा, रवि बिश्नोई र डेब्यू खेलिरहेका बृजेश शर्माले १–१ विकेट लिए।


