अञ्जिला तुम्बापो सुब्बाको आक्रोश-खेलाडीको भविष्यसँग खेलबाड बन्द गर


काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाले खेल क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेपप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्।

एक दशकभन्दा बढी समय मैदानमा संघर्ष गर्दै आफ्नो पहिचान बनाएकी सुब्बाले खेलाडीहरूको मेहनतलाई स्वार्थ र राजनीतिक खिचातानीले क्षणभरमै ध्वस्त बनाउने अवस्थाप्रति चिन्ता व्यक्त गरिन्।

शुक्रबार समाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट सार्वजनिक गर्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने अवसर एउटा खेलाडीका लागि सपना जस्तै हुन्छ। तर अन्तिम समयमा राजनीतिक कारणले गर्दा त्यो अवसर गुमाउनु अत्यन्त पीडादायी हुने उनले बताइन्। “हामीले वर्षौंको मेहनत गरेका हुन्छौँ, तर केही व्यक्तिको स्वार्थले त्यो सबै खेर जान्छ,” उनले भनिन्।

सुब्बाले खेलाडीहरूको भविष्य नै अन्योलमा पार्ने यस्ता गतिविधिले नयाँ पुस्तामा निराशा फैलाउने बताउँदै खेल क्षेत्रलाई राजनीतिबाट टाढा राख्न सम्बन्धित निकायसँग आग्रह गरिन्। उनले देशका लागि खेल्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्।

“हामी देशका लागि खेल्न चाहन्छौँ, कसैको अहङ्कारका लागि होइन,” उनले स्पष्ट पारिन्। अन्त्यमा उनले चेतावनी दिँदै भनिन्— यदि खेलाडीको अधिकार र मेहनतको सम्मान गरिएन भने नेपाली महिला फुटबल मात्र होइन, समग्र खेल क्षेत्रको भविष्य नै अन्धकारमा पर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको