काठमाडौं। विश्व फुटबलकाे सर्वाेच्च निकय (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा)को पछिल्लो अवस्थाबारे गम्भीर चासो व्यक्त गर्दै सात दिनभित्र समस्या समाधान गर्न चेतावनी दिएका छन्।
मार्च २७ मा हुने भनिएको तर स्थगित भएको एन्फा चुनावी साधारण सभाका सन्दर्भमा नेपाल आएका फिफा–एएफसीका संयुक्त प्रतिनिधिमण्डलले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्णयप्रति असन्तुष्टि जनाएको हो।
राखेपले मार्च २५ को कार्यकारी समिति बैठकको निर्णयअनुसार एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। साथै, जारी निर्वाचन प्रक्रिया रोक्न, एन्फा विधानका केही प्रावधान संशोधन गर्न र जिल्ला संघहरूलाई पनि आफ्ना विधान परिमार्जन गर्दै चुनाव गर्न निर्देशन दिएको थियो।
फिफा–एएफसीले उक्त निर्णयले चुनावको एक दिनअघि नै प्रक्रिया अवरुद्ध गरेको र एन्फाको स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप भएको ठहर गरेका छन्।
यसअघि पनि दुवै संघले जनवरी १६ र मार्च १३ मा पठाएका पत्रमार्फत सदस्य संघहरूले बाह्य हस्तक्षेपबिना आफ्ना कामकारबाही सञ्चालन गर्नुपर्ने दायित्वबारे स्पष्ट पारेका थिए।
फिफा–एएफसीले राखेपलाई उक्त निर्णय सात दिनभित्र खारेज गरी एन्फालाई पूर्ववत् अवस्थामा फर्काएर चुनावी प्रक्रिया पुनः सञ्चालन गर्न लिखित सुनिश्चितता दिन आग्रह गरेका छन्। अन्यथा एन्फालाई तत्काल निलम्बनका लागि प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
फिफाले निलम्बनको अवस्थामा एन्फाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने, विकास कोषबाट वञ्चित हुने तथा अन्य सदस्य संघहरूसँग खेलकुद सम्बन्ध राख्न नपाउने समेत स्पष्ट पारेका छन्।
फिफा–एएफसीले यस विषयमा भएका नयाँ विकासक्रमबारे जानकारी गराइरहन सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन्।


