पुलिसमाथि लुम्बिनीको शानदार जित


काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत २५७ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लब २०६ रनमै समेटिँदा लुम्बिनी प्रदेशले शानदार जित हात पारेको छ।

पुलिस ४२.५ ओभरमा अलआउट हुँदा लुम्बिनी ५० रनले विजयी भयो।। उत्कृष्ट सुरुवात गरेका दिनेश खरेलले ९४ रनको शानदार इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले १०४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए।

शंकर रानाले १२ रन बनाउँदै आक्रामक सुरुवात दिलाए पनि अन्य ब्याटरले निरन्तरता दिन सकेनन्। दिल्साद अलीले २२ रन जोडे भने सर्वान यादवले ३६ रन बनाए। अन्य खेलाडी दोहोरो अंकमा पुग्न संघर्षरत देखिए।

बलिङतर्फ लुम्बिनीका अजय चौहानले ९.५ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए। देव खनालले ३ विकेट झारे भने वीर मगर, निर्मल गुरुङ र सन्तोष यादवले समान १/१ विकेट हात पारे।

जितसँगै लुम्बिनीले ६ खेलबाट ७ अंक जोडेको छ। पुलिस पनि समान खेलबाट समान अंकसहित तेस्रो स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको