कर्णालीमाथि आर्मीको सानदार जित, शीर्ष स्थानमा उक्लियो


काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै अंकतालिकाको शीर्ष स्थान कब्जा गरेको छ।

विरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा आर्मीले कर्णालीविरुद्ध १३८ रनको एकतर्फी जित निकाल्यो। २६७ रनको लक्ष्य पछ्याएको कर्णाली ४२.१ ओभरमा १३० रनमै समेटियो।

कर्णालीका लागि विपिन शाहीले ४० रन बनाउँदा अर्जुन घर्तीले ३२, दीपेन्द्र रावतले २५ र सुनिल धमलाले ११ रन जोडे। अन्य ब्याटर उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

आर्मीका बलरहरू उत्कृष्ट देखिए। शाहब आलम र बसिर अहमदले समान ३–३ विकेट लिए भने आकाश चन्दले २ विकेट झारे। दुर्गेश गुप्ता र नरेन साउदले समान १–१ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाउँदै २६८ रनको बलियो योगफल खडा गरेको थियो। आर्मीका अर्जुन साउदले १२० बलमा १० चौका र ३ छक्कासहित १२१ रनको शानदार शतकीय इनिङ्स खेले। बसिर अहमदले ४५ रन बनाउँदा सन्तोष कार्कीले २९, नरेन साउदले २० र शाहब आलमले १७ रनको योगदान दिए।

कर्णालीका लागि दिनेश अधिकारीले ४ विकेट लिए भने प्रकाश जैशीले ३ विकेट झारे। राज शाह, विपिन शर्मा र दीपेन्द्र रावतले समान १–१ विकेट हात पारे।

यो जितसँगै आर्मीले ६ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। कर्णाली भने ७ खेलबाट ३ अंकसहित तालिकाको पुछारतर्फ रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको