काठमाडौं। छैटौं संस्करणको एनभिए अवार्डमा महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लबकी सुमित्रा रेग्मी र पुरुषतर्फ नेपाल पुलिस क्लबका पहल गहतराज वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्। दुवै खेलाडीले जनही ५० हजार रुपैयाँसहित सम्मान प्राप्त गरे।
नेपाल भलिबल संघद्वारा प्रत्येक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिने अवार्ड कार्यक्रम सोमबार काठमाडौंमा सम्पन्न भएको हो।
अवार्डमा विभिन्न विधागत सम्मान पनि प्रदान गरिएको थियो। उदियमान खेलाडी पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका विवश थापा तथा महिलातर्फ एभरेष्ट भलिबल क्लबकी मिना सुनार उत्कृष्ट घोषित भए। त्यस्तै, उत्कृष्ट प्रशिक्षक पुरुषतर्फ पुलिसका चन्द्र कुँवर र महिलातर्फ कुमार राई घोषित भए। विधागत विजेताहरूले ५० हजार रुपैयाँका दरले पुरस्कार पाए।
टिमतर्फ पुरुषमा नेपाल पुलिस क्लब र महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लब उत्कृष्ट घोषित हुँदै २ लाख रुपैयाँ प्राप्त गरे। यसैबीच, काभा यू–१९ च्याम्पियनसिपमा रजत पदक जितेको नेपाली महिला टोलीका खेलाडीलाई जनही ४० हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा खेलकुद पत्रकारितातर्फ ‘मेरो खेल टडकम’का सम्पादक श्री विक्रम भण्डारीलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो। साथै, भरत यादव र राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक जगदीश भट्टलगायत व्यक्तित्वलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
नेपालमा भलिबलले राष्ट्रिय खेलको मान्यता पाएपछि नेपाल भलिबल संघ ले पहिलो पटक २०७४ साल माघ ८ गते एनभिए अवार्ड आयोजना गरेको थियो। त्यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिएको थियो।


