२५औं आइटिएफ तेक्वान्दो राष्ट्रिय तथा दोस्रो यु-१५ आइटिएफ प्रतियोगिता हुने


काठमाडौं। २५औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता तथा दोस्रो यु-१५ आइटिएफ प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा हुने भएको छ।

नेपाल अन्तर्रास्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ) को आयोजनामा शुक्रबारदेखि दुईदिने प्रतियोगिता काठमाडौंमा हुने भएको हो। जुनियर र सिनियरमा प्याटर्न र स्पाइरिङमा गरी कुल दुई सय जना खेलाडीले प्रतिस्पर्धा गर्ने महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए। प्रतियोगितामा सातै प्रदेशसहित नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ गरी कुल ९ टोलीको सहभागिता रहनेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा प्रतियोगिता हुनेछन्।

विभिन्न विधाअन्तर्गत खेलाडीहरूले एकल स्पारिङ, एकल प्याटर्न, समूह स्पारिङ, समूह प्याटर्न तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा गर्नेछन्। यु-१५ विद्यालय प्रतियोगिता (१२-१५ वर्ष) उमेर समूहमा २० स्वर्ण, २० रजत र ४० कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। यसअन्तर्गत एकल स्पारिङतर्फ पुरुष तथा महिलामा २०-२५ केजीदेखि ४५-५० केजीसम्मका तौल समूह समावेश गरिएको छ। एकल प्याटर्नमा हरियो, निलो, रातो बेल्ट तथा प्रथम डानका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ भने समूह स्पारिङ/प्याटर्नमा ५/५ जना र सेल्फ डिफेन्समा ३-५ जना समावेश हुनेछन्।

यस्तै सिनियर (१६-३४ वर्ष उमेर) राष्ट्रिय प्रतियोगितामा ३३ स्वर्ण, ३३ रजत र ६६ कांस्य पदकका लागि खेल हुनेछ। पुरुषतर्फ ४५-५० केजीदेखि ८५ केजीमाथिसम्म र महिलातर्फ ४०-४५ केजीदेखि ७० केजीमाथिसम्मका तौल समूह समेटिएका छन्। एकल प्याटर्नमा हरियो, नीलो, रातो बेल्टका साथै प्रथम, दोस्रो र तेस्रो डानका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।

समूहतर्फ दुवै उमेर समूहमा स्पारिङ र प्याटर्नका लागि ५/५ खेलाडी तथा सेल्फ डिफेन्समा ३-५ खेलाडी सहभागी रहनेछन्। जुनियर र सिनियरमा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले ट्रफी प्राप्त गर्नेछ। दुवै समूहमा बेस्ट फाइटरले ट्रफी पाउने महासंघका कोषाध्यक्ष विक्रम बाठा मगरले बताए। प्रतियोगिताले तेक्वान्दो खेलको विकास तथा खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको