राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक


काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले मंगलबार ३८ पुरुष र २५ महिला खेलाडीलाई विभिन्न श्रेणीमा समावेश गरिएको जनाएको हो।

पुरुषतर्फ ‘ए प्लस’ श्रेणीमा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसँगै दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। ‘ए’ श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी समावेश छन्।

त्यस्तै, ‘बी’ श्रेणीमा ललितनारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुल्शन झा रहेका छन्। ‘सी’ श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बशिर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल साह समेटिएका छन्।

डेभलपमेन्ट श्रेणीमा त्रितराज दास, राशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतीस जिसी र सागर ढकाल परेका छन्।

महिलातर्फ ‘ए’ श्रेणीमा इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता रानामगर रहेका छन्। ‘बी’ श्रेणीमा कविता कुँवर, सम्झना खड्का र मनीषा उपाध्याय समावेश छन् भने ‘सी’ श्रेणीमा बिन्दु रावल, कविता जोशी, रुबी पोद्दार र रिया शर्मा रहेका छन्।

महिला टोलीको डेभलपमेन्ट श्रेणीमा रोमा थापा, सुमन विष्ट, ईश्वरी विष्ट, सोनी पाख्रिन, सना प्रविण, सावित्री धामी, काजल श्रेष्ठ, सीमा केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अश्मिना कर्माचार्य र रचना कुमारी चौधरी समावेश छन्।

क्यानका अनुसार पुरुष खेलाडीमध्ये ‘ए प्लस’ श्रेणीका खेलाडीले मासिक एक लाख २० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन्। ‘ए’ श्रेणीका खेलाडीले एक लाख, ‘बी’ श्रेणीका खेलाडीले ७५ हजार, ‘सी’ श्रेणीका खेलाडीले ५५ हजार तथा डेभलपमेन्ट श्रेणीका खेलाडीले ३५ हजार रुपैयाँ मासिक तलब पाउनेछन्।

यसअघि क्यानले ‘ए’ श्रेणीका खेलाडीलाई एक लाख, ‘बी’ श्रेणीलाई ७० हजार, ‘सी’ श्रेणीलाई ५५ हजार, डोमेस्टिक श्रेणीलाई ३५ हजार र इमर्जिङ श्रेणीलाई २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो।

महिला खेलाडीमध्ये ‘ए’ श्रेणीका खेलाडीले ५५ हजार रुपैयाँ, ‘बी’ श्रेणीले ४० हजार, ‘सी’ श्रेणीले ३० हजार तथा डेभलपमेन्ट श्रेणीले २५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने क्यानले जनाएको छ। यसअघि ‘ए’ श्रेणीका खेलाडीले ५० हजार, ‘बी’ श्रेणीले ३५ हजार, ‘सी’ श्रेणीले २५ हजार र ‘डी’ श्रेणीले २० हजार रुपैयाँ मासिक तलब पाउँदै आएका थिए।

त्यसैगरी, पुरुष तथा महिला दुवै टोलीका खेलाडीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिखेल १० हजार रुपैयाँ तथा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिखेल १५ हजार रुपैयाँ म्याच फी प्राप्त गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको