ललितपुर। नेपाल बुद्धिचाल महासंघले आगामी राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन गर्ने सम्बन्धमा निर्णयहरू गरेको छ। महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको पूर्ण बैठकले विभिन्न प्रतियोगिताको मिति, स्थान र व्यवस्थापनको जिम्मेवारी तय गरेको हो।
बैठकले वैशाख १६ देखि १८ गतेसम्म नेशनल रापिड तथा ब्लिट्ज चेस च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको छ। उक्त प्रतियोगिताको स्थानीय व्यवस्थापनको जिम्मेवारी काठमाडौंस्थित क्षेत्रपाटी क्लबलाई दिइएको छ। त्यसैगरी, जेठ ४ देखि ८ गतेसम्म झापाको बिर्तामोडमा २७औं खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा ११औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि नेशनल ‘बी’ छनोट प्रतियोगिता आयोजना गरिनेछ। यस प्रतियोगिताको व्यवस्थापन काँकडभिट्टास्थित नाइट चेस क्लबलाई दिइएको छ। छनोट प्रतियोगिताबाट पुरुष र महिला दुवैतर्फबाट ९/९ जना खेलाडी नेशनल ‘ए’ का लागि छनोट हुनेछन्।
नेशनल ‘ए’ स्तरको पुरुष तथा महिला राष्ट्रिय प्रतियोगिता भने जेठ २९ देखि असार ४ गतेसम्म कास्कीमा सञ्चालन हुनेछ। यस प्रतियोगिताबाट समान चार/चार जना खेलाडी उज्बेकिस्तानमा आयोजना हुने ४७औं चेस ओलम्पियाडका लागि छनोट गरिने महासंघले जनाएको छ। यसैबीच, वार्षिक रूपमा आयोजना हुँदै आएका सात विधागत राष्ट्रिय प्रतियोगितामध्ये नेशनल जुनियर चेस च्याम्पियनसिप जेठ १० देखि १२ गतेसम्म ललितपुरमा गर्ने निर्णय पनि गरिएको छ।
महासंघले आफ्नो नियमित साधारणसभा मधेस प्रदेशको धनुषास्थित जनकपुरधाममा गर्ने निर्णय गरेको छ। निर्धारित समयभित्र अधिवेशन सम्पन्न गरेका २० जिल्ला संघहरू रहेको जनाउँदै, बाँकी जिल्लाहरूमा चेस गतिविधिको अवस्था मूल्यांकन गरी आवश्यक परे तदर्थ समिति गठन गरिने बताइएको छ।
अनुगमनका लागि अध्यक्ष महर्जन संयोजक रहने उपसमिति गठन गरिएको छ, जसमा वरिष्ठ उपाध्यक्ष दिपेन राई, उपाध्यक्ष माधवप्रसाद प्रधान, महासचिव धरमबहादुर लामा र खेलाडी रुपेश जैसवाल सदस्य रहेका छन्। उक्त उपसमितिले एक साताभित्र प्रतिवेदन तयार गरी वैशाख १२ गते बस्ने कार्यसमिति बैठकमा पेश गर्नेछ।
यसैगरी, नेशनल रापिड तथा ब्लिट्ज चेसका प्रमुख निर्णायकमा एफए सोराज ताम्राकार र नेशनल ‘बी’ छनोट प्रतियोगिताका प्रमुख निर्णायकमा एफए भुपेन्द्र निरौलालाई जिम्मेवारी दिइएको महासंघले जनाएको छ।


