काठमाडाैं। टाइम्स र इन्जिनिएरिङ पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा टाइम्सले एलाइटलाई ७९–५१ ले पराजित ग¥यो। टाइम्सका कुशल शाक्यले १४ अंक जोडे। पहिलो क्वाटरमा २२–११ को अग्रता लिएको टाइम्स दोश्रोमा १४–१५ को झीनो अन्तरले पछि प¥यो। टाइम्सले तेश्रोमा २१–१३ र चौथोमा २२–१२ को अग्रता बनाउदै जित अन्तर फराकिलो बनायो।
इन्जिनिएरिङले रोयल्सलाई अत्तिरिक्त समयमा ५४–४८ ले हरायो। निर्धारित समयको खेलमा ४६–४६ को बराबरीमा सकिएको थियो। थप गरिएको समयमा इन्जिनिएरिङले ८ तथा रोयल्सले २ स्कोर गरे। इन्जिनिएरिङका समिर उप्रेतीले २० अंक बटुले।
महिलामा बलर्सले एनसीसीएसलाई ३३–११ ले पाखा लगायो। बलर्सकी जेसिका लामाले १३ अंक जोडिन्। दुई खेलमा बलर्सको यो पहिलो जित हो। यो समूहमा बलर्स र एनसीसीएससहित ३ टिम छन्। एक खेल खेल्न बाँकी ट्रेनिङ ग्राउन्डले पहिलो खेलमा जित दर्ता गरेको थियो। एनसीसीएसको पहिलो खेल हो। तीनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ।