काठमाडाैं। नेपाल बास्केटबल संघको आयोजनामा १०औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार १ गतेदेखि हुने भएको छ। प्रतियोगितमा मोसफलका ३ सहित ८ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
मोफसलबाट सहभागी हुने टिममा अन्नपूर्ण बास्केटबल एसोसिएसन, कास्की, सुनसरी बास्केटबल एसोसिएसन र लुम्बिनी प्रदेश रहेका छन्। बाँकीमा आईएसए नेपाल, लेट्स गो बास्केटबल एकेडेमी, ट्रेनिङ ग्राउन्ड, बूढानीलकण्ठ नगरपालिका र ग्रान्डी स्टार्स छन्। मोफसलका टोलीलाई सहयोग स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराइने प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए।
विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ। उदीयमान टिमलाई पनि १० हजार नगद पुरस्कार दिइने छ। मोफसलका एक उदीयमान खेलाडीलाई ५ हजार नगदसहित पुरस्कृत गरिने छ।
यसै प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनोट गरी साबा महिला च्याम्पियनसिपमा सहभागी गराइने संघले जनाएको छ। साबा २०२६ को सेप्टेम्बर÷अक्टोबरमा नेपाल वा भारतमा हुने सम्भावना रहेको अध्यक्ष गुरुङले बताए।
‘साबाका आयोजनाका लागि हामीसंगै भारतले पनि दाबेदारी पेश गरेको छ। ८० प्रतिशत नेपालमा हुने सम्भावना छ।’ अध्यक्ष गुरुङले भने। प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ। असार ६ गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगिताका खेलहरु कीर्तिपुर कभर्डहलमा हुनेछ।