सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

काठमाडौं । सोमबार राति डेब्युटन्ट केप भेर्डेसँग प्रतिस्पर्धा गरिरहँदा स्पेनको लक्ष्य फिफा विश्वकप २०२६ मा सानदार सुरुआतको हुनेछ। समूह ‘एच’को यो खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ।

ला रोहाले केप भेर्डेपछि समूहमा साउदी अरेबिया र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ। लुइस डी ला फ्युन्टेको नेतृत्वमा रहेको स्पेनलाई फ्रान्ससँगै उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको छ। फ्युन्टेकै नेतृत्वमा स्पेनले युरोपियन च्याम्पियनसिप २०२४ को उपाधि जितेको थियो। जतिबेला फाइनलमा स्पेनले इङ्ल्यान्डको चुनौती पन्छाएको थियो।

स्पेन विश्वकप २०१० को च्याम्पियन हो। तर, पछिल्ला तीन विश्वकप भने टोलीका लागि विर्सनलायक रह्यो। उपाधि रक्षाको अभियानमा रहँदा स्पेन २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो। त्यसपछि २०१८ र २०२२ मा टोलीको यात्रा अन्तिम १६ सम्म मात्रै सीमित रह्यो।

विश्वकपअघि स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरुमाथि ३–१ को जित हासिल गर्यो। पछिल्ला १० खेलमा स्पेन अपराजित छ। टोलीले १० मध्ये ७ खेल जितेको छ। समूह विजेताका रुपमा हेरिएको स्पेनले यदि केप भेर्डेको चुनौती नपन्छाउने हो भने त्यो सबैका लागि आश्चर्यको विषय बन्नेछ।

केप भेर्डे र स्पेन अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक आमने–सामने हुँदैछन्। कागजमा यी दुईबीचको अन्तर एकदमै धेरै छ। अफ्रिकी राष्ट्र केप भेर्डेले क्याफ छनोटमा क्यामरुनलाई पछाडी पारेको थियो। स्पेनविरुद्ध खेल केप भेर्डेका लागि ऐतिहासिक हुनेछ। किनभने यो केप भेर्डेका लागि पहिलो विश्वकप खेल हो।

बुबिस्ताको नेतृत्वमा रहेको केप भेर्डेले पछिल्ला तीन अन्तर्राष्ट्रिय खेल जितेको छ। गत महिना सर्बियालाई ३–० ले हराएको केप भेर्डेले विश्वकपको पूर्वसन्ध्यामा बर्मुडालाई पनि सोही नतिजामा पराजित गर्यो। केप भेर्डे स्पेनको ‘क्वालिटी’का बारेमा जानकार छ। त्यसैले टोलीको लक्ष्य भनेको कम्तिमा पनि उत्कृष्ट ‘सेकेन्ड रनर्स अप’ बन्ने हुनेछ। बढीमा केप भेर्डेले दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुग्ने हुनुपर्छ। किनभने जति बलियो स्पेन छ, त्यतिनै अन्य प्रतिद्धन्द्धी उरुग्वे र साउदी अरेबियामा कमजोरीहरु छन्।

स्पेनपछि केप भेर्डेले जुन २१ मा उरुग्वेसँग खेल्नेछ। त्यसको पाँच दिनपछि उसको भेट साउदी अरेबियासँग हुनेछ। विंगरद्धय लामिन यमाल र निको विलियम्स इन्जुरी समस्याबाट मुक्त हुँदै पूर्ण प्रशिक्षणमा फर्किएको हप्ता दिन भइसक्यो। यद्यपि केप भेर्डेविरुद्ध फ्युन्टेले यी दुईलाई बेन्चबाट सुरुआत गराउने सम्भावना पनि छ।

ओसासुनाका भर्सटाइल खेलाडी भिक्टर मुनोज पनि ‘मस्कुलर ओभरलोड’का कारण पहिलो रोजाईमा नदेखिने सम्भावना बढी छ। त्यसैले सोमबार फरवार्ड लाइनमा फरान टोरेस, एलेक्स बेइना र मिकेल ओयारजाबाललाई पहिलो रोजाईमा देख्न सकिन्छ। फ्युन्टेले टोटनहम हटस्पर्शका पेड्रो पोरोलाई राइटब्याक अनि मिडफिल्डमा फाबियन रुइज, रोड्री र पेड्रीलाई पहिलो रोजाईमा खेलाउने अनुमान गरिएको छ।

केप भेर्डेमा भने फिटनेस र इन्जुरीको कुनै पनि समस्या छैन। रायन मेन्डेज केप भेर्डेका सर्वाधिक गोलकर्ता हुन्। ९७ खेलमा उनले २२ गोल गरेका छन्। ३६ वर्षीय विंगर मेन्डेज अन्तर्राष्ट्रिय करिअरकै सबैभन्दा ठूलो खेल खेल्दैछन्। मंगलबार बिहान साउदीले उरुग्वेको सामना गर्नेछ। यो खेल बिहान ३ः४५ बजे हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको