पुलिस र स्ट्याग उपाधिका लागि भिड्ने


काठमाडौं । नेपाल पुलिस क्लब र आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ मा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलको पुरुष सिंगल्समा प्रहरीका वंश सिंघलले एपीएफका राजीव चिकबञ्जारलाई ११–७, ११–३ र ११–९ को सोझो सेटमा पराजित गरे। प्रहरी फाइनलमा पुगेको दोश्रो पटक हो। गत संस्करणमा स्ट्याग तेस्रो भएको थियो।

महिला सिंगल्समा प्रहरीकी लक्षिता नारङले एपीएफकी दिया देउलालाई सीधा सेटमा ११–५, ११–२ र ११–८ ले हराइन्। मिक्स डबल्समा प्रहरीका संयोग कपाली र लक्षिताको जोडीले एपीएफका राजीव र अनिता महर्जनको जोडीलाई ११–८ र ११–४ ले पछि पारेपछि तेश्रो सेट नै खेल्नु परेन।

नकआउटमा जुन टिमले पहिले ८ अंक हासिल गर्छ त्यही टिम विजयी हुने नियम छ। त्यस आधारमा प्रहरी समग्रमा ८–० ले विजयी भयो। १ सेट जितका लागि १ अंक पाउने प्रावधान छ।

प्रतिस्पर्धात्मक अर्को सेमिफाइनलमा स्ट्यागले यल टेबलटेनिसलाई समग्रमा ८–६ ले पाखा लगायो। पुरुष सिंगल्समा यलका आदर्श ओम क्षेत्रीले स्ट्यागका हमर साङगालाई ११–९, ११–२ र ११–९ ले पन्छ्याउदै यललाई ३–० को अग्रता दिलाए।

महिला सिंगल्समा प्रहरीकी त्रिशा गोगोइले यलकी मुनमुन कुन्डुमाथि ३–० को सोझो सेटमा जित दर्ता गर्दै खेललाई ३–३ को बराबरीमा ल्याइन् । त्रिशाले ११–६, ११–९ र ११–४ ले बाजी मारिन्।

मिक्स डबल्समा यलका एलेक्स महर्जन र मुनमुनको जोडीविरुद्धको खेलमा स्ट्यागका गनन्जय र त्रिशाको जोडी तीनै सेटमा समान ११–७ को नतिजामा विजयी भए। मिक्स डबल्सको समाप्तिमा स्ट्याग ६–३ ले अगाडि रह्यो। अर्को पुरुष सिंगल्समा यलका एलेक्सले स्ट्यागका प्रवेशलाई ११–८, ११–९ र ११–१० ले पराजित गरेसँगै खेल ६–६ को बराबरी अवस्थामा पुगेको थियो।

निर्णायक तथा अन्तिम स्पर्धाका रुपमा रहेको महिला सिंगल्समा यलकी रविना महर्जन विरुद्ध स्ट्यागकी सुस्मिता खड्काले सुरुका २ सेटको नतिजा ११–८ र ११–१० ले आफ्नो पक्ष पारेपछि प्रहरीलाई आवश्यक ८ अंक पुग्यो र खेललाई अगाडि बढाउनु परेन। लिगमा सेट १०–१० को बराबरी भएमा ‘गोल्डेन प्वाइन्ट’ का आधारमा सेटको नतिजा टुंगो लगाउने प्रावधान छ। फाइनल शनिबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको