चितवनमा पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप

काठमाडौं कात्तिक ११ गते । चितवन तेक्वान्दो डोजाङको आयोजनामा कात्तिक १३ देखि १५ गतेसम्म प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप– २०२६ हुने भएको छ।

चितवनमा तेक्वान्दो खेलको विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई प्रतिस्पर्धाको साझा मञ्च प्रदान गर्ने र नेपालमा तेक्वान्दोको स्तरलाई अझ माथि उठाउने उद्देश्यका प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगता संयोजक प्रज्वल दवाडीले जानकारी दिए। उनले यस प्रतियोगिताले नेपाली तेक्वान्दोको विकासमा एउटा इँटा थप्ने विश्वास व्यक्त गरे।

प्रतियोगितामा नेपालका सातवटै प्रदेश र आयोजक टोलीसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया, जापानलगायत विभिन्न देशका खेलाडी तथा टोलीको सहभागिता रहने अपेक्षा आयोजकको छ । करिब ८ सय खेलाडी सहभागी हुने बताइएको छ।

प्रतियोगितामा तेक्वान्दोका पुम्से र ग्योरोगी विधाका विभिन्न उमेरसूह तथा तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गराउँदै उनीहरूको क्षमता अभिवृद्धि गर्ने, अनुभव आदान प्रदानको अवसर सिर्जना गर्ने र खेलकुदमार्फत अन्तर्राष्ट्रिय मित्रता विस्तार गर्ने लक्ष्य रहेको वरिष्ठ मास्टर रोशन खानले बताए।

प्रतियोगितामा टिमतर्फ प्रथम हुने टोलीले ५० हजार रुपैयाँ, दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी, उत्कृष्ट पुम्से पुरुष, उत्कृष्ट पुम्से महिला, उत्कृष्ट ग्योरोगी पुरुष खेलाडी, उत्कृष्ट ग्योरोगी महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ।

प्रतियोगिताको उद्घाटन समारोह अक्टोबर ३० अर्थात् कात्तिक १३ गते अपराह्न ४ बजे हुनेछ। त्यसैगरी, नोभेम्बर १ अर्थात् कात्तिक १५ गते अपराह्न ४ बजे समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ। प्रतियोगिता सञ्चालनका लागि नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश तेक्वान्दो संघ तथा चितवन जिल्ला तेक्वान्दो संघको सहयोग र समन्वय रहनेछ। यस आयोजनालाई सफल बनाउन विभिन्न निकाय, संघसंस्था, प्रायोजक, सहयोगी तथा खेलप्रेमीबाट प्राप्त साथ र सहयोग प्रशंसनीय रहेको आयोजकले जनाएको छ। ‘हामीले यो प्रतियोगितालाई खेलकुदमा मात्र सीमित राखेका छैनौँ। सौराहा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा पदाधिकारीको आगमनले चितवनको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास लिएका छौँ।’– विज्ञप्तिमा भनिएको छ।

यस प्रतियोगितामार्फत सौराहालाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न, स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्न र चितवनको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न योगदान पुग्ने अन्तर्राष्ट्रिय संयोजक तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको