श्रीलंकाली अलराउन्डर थरिन्दु सुदूरपश्चिममा अनुबन्ध

काठमाडौं । श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

३० वर्षीय रथ्नायके बायाँहाते ब्याटर हुन् । उनी दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्छन् । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन् ।

रथ्नायकेले श्रीलंकाका लागि चार टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । त्यसमा उनले ६ विकेट लिएका छन् भने ब्याटिङमा ७७ रन बनाएका छन् । उनको टी–२० अन्तर्राष्ट्रियमा उच्च स्कोर ६५ रन हो ।

घरेलु तथा अन्य टी–२० प्रतियोगितामा उनले ८८ खेल खेल्दै ९८ विकेट लिएका छन् । यस क्रममा उनको उत्कृष्ट बलिङ प्रदर्शन ८ रन खर्चेर ४ विकेट लिनु हो । उनले टी–२० क्रिकेटमा ६३८ रनसमेत बनाएका छन् ।

प्रथम श्रेणी क्रिकेटमा ८२ खेल खेलेका रथ्नायकेले ३७८ विकेट लिएका छन् भने १ हजार ९२३ रन बनाएका छन् । त्यस्तै, लिस्ट ए क्रिकेटमा ९६ खेल खेल्दै १३३ विकेट र ९५२ रन बनाएका छन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको