काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) को तहगत निर्वाचन वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङकै नेतृत्वमा गर्नुपर्ने सर्त अघि सारेको छ।
बिहीबार थाइल्यान्डमा एसियाली फुटबल महासंघ (एएफसी) को अवार्ड समारोहका क्रममा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), फिफा र एएफसीका प्रतिनिधिबीच भएको बैठकमा फिफाले यस्तो सर्त राखेको हो।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरेका थिए। प्रतिनिधिमण्डलमा मन्त्रीका प्रमुख सल्लाहकार सिद्धि ब्यञ्जनकार र राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ सहभागी थिए।
त्यस्तै, एएफसीका तर्फबाट उपमहासचिव वाहिद करदानी र दक्षिण एसिया एकाइका वरिष्ठ व्यवस्थापक सोनम जिग्मे सहभागी थिए। फिफाका तर्फबाट एसिया तथा ओसियानाका सदस्य संघ निर्देशक सञ्जीवन बलसिङम, सदस्य संघ सुशासन सेवाकी व्यवस्थापक एमिली डोम्स र दक्षिण एसियास्थित फिफाको क्षेत्रीय कार्यालयका प्रमुख प्रिन्स रुफस सहभागी थिए।
बैठकमा सहभागी मन्त्रीका प्रमुख सल्लाहकार ब्यञ्जनकारका अनुसार फिफा र एएफसीले एन्फाको वर्तमान नेतृत्वलाई मान्यता दिँदै जिल्ला, प्रदेश र केन्द्रीय तहका निर्वाचन यही नेतृत्वको मातहतमा सम्पन्न गर्नुपर्ने सर्त राखेका हुन्।
