काठमाडौं। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत फुल कन्ट्याक्ट कराते विधामा सहभागी हुने खेलाडीहरूलाई प्रोत्साहन गर्न नेपाल बुदाेकैदो फुल कन्ट्याक्ट संघले विशेष पुरस्कार तथा सम्मान कार्यक्रम घोषणा गरेको छ।
कर्णाली प्रदेशमा आगामी मंसिर ११ देखि १३ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन छनोट भएका खेलाडीहरूलाई संघले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
संघका अनुसार प्रतियोगिताका लागि छनोट भएका सम्पूर्ण खेलाडीलाई ट्र्याकसुट र स्पोर्ट्स ब्याग प्रदान गरिनेछ। त्यसैगरी उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई विशेष पुरस्कारस्वरूप एक थान स्कुटर र एक थान मोटरसाइकल प्रदान गरिने घोषणा गरिएको छ।
प्रतियोगितामा पदक जित्ने खेलाडीहरूका लागि नगद पुरस्कारसमेत व्यवस्था गरिएको छ। जसअनुसार स्वर्ण पदक विजेतालाई ५० हजार रुपैयाँ, रजत पदक विजेतालाई २५ हजार रुपैयाँ र कांस्य पदक विजेतालाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।
संघले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूमा सागर बिष्ट, विरेन्द्र बिष्ट, किरण बोहरा, वासुदेव खडायत, दीपिका पार्कि, गरिमा पार्कि, बबिता कार्की, याङ्सु श्रेष्ठ, सिमा घिसिङ, रविता चन्द र महिमा नेपाली रहेका छन्।
खेलाडीहरूको मेहनत, अनुशासन, लगनशीलता र उत्कृष्ट प्रदर्शनको कदर गर्दै पुरस्कार घोषणा गरिएको संघले जनाएको छ। यसले खेलाडीहरूमा थप उत्साह र आत्मविश्वास बढाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिल्ने विश्वास संघले व्यक्त गरेको छ। संघले प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीलाई उत्कृष्ट प्रदर्शनसहित संघ र राष्ट्रको गौरव बढाउन शुभकामना व्यक्त गरेको छ।
