काठमाडाैं। ठुङरम इन्टरनेशनल एकेडेमी (टीआईए) को आयोजनामा १८औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ।
विगत १७ संस्करणको गौरवमय इतिहास बोकेको यस प्रतियोगिताले विद्यालय स्तरमा बास्केटबल खेलको व्यावसायिक विकास, नवप्रतिभाको पहिचान तथा विद्यार्थीहरूमाझ आपसी सद्भाव, अनुशासन, टीमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने मुख्य उद्देश्य राखेको छ। प्रतियोगिता सफल पार्न आवश्यक कोर्ट मर्मत, प्राविधिक व्यवस्थापन, सुरक्षा तथा स्वागत सत्कारलगायतका सम्पूर्ण तयारीहरू पूरा भइसकेको टीआईएका अतिरिक्त क्रियाकलाप प्रमुख एवं कार्यक्रम निर्देशक उज्ज्वल रिजालले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
अन्तर्राष्ट्रिय बास्केटबल महासंघको प्रचलित नियमअनुसार लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने यस प्रतियोगितामा काठमाडौं उपत्यकाका विद्यालयहरूबाट सिनियर ब्वाइज र सिनियर गल्र्स विधामा गरी कुल ३० टिमको सहभागिता रहने छ।
कुल ४ लाख रुपैयाँ अनुमानित बजेट रहेको प्रतियोगितामा सिनियर ब्वाइज र सिनियर गल्र्स दुवै विधाका विजेता तथा उपविजेता टिमहरूलाई नगद पुरस्कार, रनिङ सिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
विद्यालयकी प्रधानाध्यापक नीरा प्रधानको संरक्षकत्वमा आयोजना हुन लागेको यस प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख उज्ज्वल रिजालले कार्यक्रम निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको छ भने प्राविधिक तथा खेल प्रशिक्षण पक्षको नेतृत्व बास्केटबल प्रशिक्षक केदार बुढाथोकीले गर्ने छन्। मंसिर १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु हात्तीगौडास्थित आयोजककै कोर्टमा खेलाइने छ।
