तेस्रो प्रयासमा सुदूरपश्चिम बन्यो एनपीएल च्याम्पियन, रिजनको एकै सिजनमा तीन पुरस्कार,

काठमाडौं । सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिमले यसपटक उपाधि जित्दै अघिल्ला दुई संस्करणको फाइनल हारको शृङ्खला तोडेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा स्कटल्यान्डका जर्ज मुन्सेले अविजित १२५ रनको कीर्तिमानी पारी खेले। उनले ५४ बलमा १२ छक्का र ८ चौका प्रहार गरे। मुन्से एनपीएलको फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बने। अर्का ओपनर विनोद भण्डारी ३० रनमा अविजित रहे।

त्यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। उसका दिलीप नाथले अविजित ३९, कप्तान रोहित पौडेलले ३० र निरोशन डिक्वेलाले २८ रन बनाए। सुदूरपश्चिमका स्कट कुगेलाइनले सर्वाधिक दुई विकेट लिए।

पुरस्कारमा पनि सुदूरपश्चिमको सफलता
उपाधि जितेको सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँ पाएको छ। तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो भएको काठमाडौं गोर्खाजले ३० लाख रुपैयाँ प्राप्त गरेका छन्।

व्यक्तिगत विधामा कसले के पाए?
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी घोषित भए। उनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगितामा २१७ रन बनाउनुका साथै सात विकेट लिएका ऐरीले टोलीलाई पहिलोपटक च्याम्पियन बनाउन नेतृत्वसमेत गरे।

चितवन राइनोजका रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै ओमोडा एन्ड जेइकोको कार जित्न सफल भए। प्रतियोगितामा १७ विकेट लिएका उनी उत्कृष्ट बलरसमेत बने। यससँगै उनले पल्सर मोटरसाइकल र गोल्डेन क्यापसँगै दुई लाख रुपैयाँ पनि प्राप्त गरे।

पोखरा एभेन्जर्सका युवराज सिंह साम्रा २९४ रनसहित प्रतियोगिताकै सर्वाधिक रनकर्ता बने। उनले प्लाटिनम क्याप र दुई लाख रुपैयाँ प्राप्त गरे।

विराटनगर किंग्सका लोकेश बम २४२ रनसहित सर्वाधिक रन बनाउने नेपाली खेलाडी बने। उनले पल्सर मोटरसाइकल प्राप्त गरे। यस्तै, जनकपुर बोल्ट्सका राहुल यादव उदयीमान खेलाडी घोषित हुँदै मोटरसाइकल जित्न सफल भए।

चितवन राइनोजका कमिल मिश्रा इनर्जेटिक खेलाडी घोषित भए। उनले दुई लाख रुपैयाँ पुरस्कार पाए। फाइनलमा अविजित १२५ रन बनाएका जर्ज मुन्से खेलको उत्कृष्ट खेलाडी घोषित भए।

उपविजेता लुम्बिनी लायन्सले स्पिरिट अफ क्रिकेट अवार्डसमेत प्राप्त गरेको छ। यससँगै एनपीएलको तेस्रो संस्करण विभिन्न कीर्तिमान र व्यक्तिगत उपलब्धिसहित सम्पन्न भएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको